• Home
  • Business
  • कुर्सी सम्हाल्न नपाउँदै कृषिमन्त्री गीतालाई रासायनिक मलको ‘अग्निपरीक्षा’
Image

कुर्सी सम्हाल्न नपाउँदै कृषिमन्त्री गीतालाई रासायनिक मलको ‘अग्निपरीक्षा’


News Summary

Generated by OK AI. Editorially reviewed.

  • कञ्चनपुरकी गीता चौधरीले कृषि तथा पशुपन्छी विकास एवं वन तथा वातावरणमन्त्रीको जिम्मेवारी सम्हालेकी छिन्।
  • मन्त्री चौधरीले मल अभाव, सिँचाइ समस्या र किसानका बजार व्यवस्थापन चुनौतीहरू सामना गर्नुपर्नेछ।
  • कृषि विज्ञहरूले मन्त्रीलाई ६ महिनाभित्र वास्तविक किसानको पहिचान गर्न र वन क्षेत्रलाई कृषिसँग जोड्न सुझाव दिएका छन्।

१३ चैत, काठमाडौं । कञ्चनपुर शुक्लाफाँटा नगरपालिका-४ की ३३ वर्षीया गीता चौधरीले कृषि तथा पशुपन्छी विकास एवं वन तथा वातावरणमन्त्रीको जिम्मेवारी सम्हालेकी छिन् ।

एक साधारण थारू परिवारमा जन्मेर कानुनी संघर्षको मैदान हुँदै देशको कार्यकारी तहमा उनको प्रवेशले अवसर र चुनौती दुवैको ढोका खोलेको छ ।

कानुनमा स्नातकोत्तर गरेकी चौधरी व्यावसायिक रूपमा एक अधिवक्ता हुन्, जसले विशेषगरी गरिब, दलित र सीमान्तकृत समुदायका लागि नि:शुल्क कानुनी परामर्श दिँदै आफ्नो पहिचान बनाइन् ।

आर्थिक अभावबीच पनि ठूलै संघर्ष गरेर पढेकी उनले जग्गा विवाद र घरेलु हिंसाजस्ता मुद्दामा १ सय ५० भन्दा बढी नागरिकलाई न्यायको पहुँचमा सघाइन् ।

उनको राजनीतिक यात्रा २०६२/६३ को जनआन्दोलनपछि सुरु भयो र विभिन्न दल हुँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मार्फत उनी मन्त्री बनेकी हुन् ।

उनी यस्तो समयमा मन्त्री बनेकी छिन्, जुन बेला देशको कृषि क्षेत्र चौतर्फी संकटबाट गुज्रिरहेको छ । उनको कार्यकालको सबैभन्दा ठूलो परीक्षा मन्त्रालयमा व्याप्त सीमित स्रोत, किसानहरूको गहिरो असन्तुष्टि र बिचौलिया नियन्त्रित बजार व्यवस्थापनको चुनौती कसरी सामना गर्ने भन्ने हुनेछ ।

नयाँ कृषिमन्त्रीले तत्कालै सम्बोधन गर्नुपर्ने केही मुद्दा छन्, जुन  किसानहरूले समयमा मल नपाउने समस्या ।

कृषि क्षेत्रको बहुआयामिक संकट र विश्वव्यापी असर

नेपालको कृषि क्षेत्र बहुआयामिक समस्याले घेरिएको अवस्थामा छ । कृषि विज्ञहरूले कृषि क्षेत्रका चुनौतीलाई सतही रूपमा मात्र हेर्नुको सट्टा गहिराइमा बुझेर दीर्घकालीन एवं प्रणालीगत समाधान खोज्नुपर्नेमा जोड दिँदै आएका छन् ।

यी समस्या केवल मल वा सिँचाइ अभावमा सीमित छैनन्, बरु यसमा जमिनको स्वामित्व, उन्नत प्रविधि अभाव, गुणस्तरीय बिउको परनिर्भरता, जलवायु परिवर्तनका असर र मानव–वन्यजन्तु द्वन्द्वजस्ता विविध पक्ष जोडिएका छन् ।

जलवायु परिवर्तन, भूराजनीतिक अस्थिरता र विश्वव्यापी संकटहरूले नेपालको खाद्य सुरक्षामा गम्भीर जोखिम निम्त्याएका छन् ।

हालै मध्यपूर्वमा चर्किएको संकटले रासायनिक मलको विश्वव्यापी आपूर्ति शृङ्खला प्रभावित पारेको छ, जसको प्रत्यक्ष असर नेपालको मल खरिद प्रक्रियामा देखिन थालेको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि र ढुवानीमा समस्या आएपछि सरकारले आह्वान गरेको टेन्डर रद्द भए आगामी धान सिजन चुनौतीपूर्ण हुनेछ । नेपालजस्तो परनिर्भर मुलुकका लागि भविष्यमा यस्ता संकट झनै भयावह हुन सक्ने चेतावनी विज्ञहरूले दिएका छन् ।

नेपालको कृषिमा प्रविधि, लगानी र पूर्वाधारको कमी हुनु आन्तरिक कमजोरीका रूपमा देखिएको छ । जलवायु परिवर्तनको हिसाबले नेपाल विश्वमै उच्च जोखिममा रहेका मुलुकमध्ये पर्दछ, जसले कृषि उत्पादनमा नकारात्मक असर पारिरहेको छ ।

अर्कातर्फ, युवा पलायनले गाउँका खेतीयोग्य जमिन बाझिँदै गएका छन् । यी सबै कारकले धनी र गरिब किसानबीचको खाडल अझ फराकिलो बनाउने छ ।

कृषि मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठका अनुसार मध्यपूर्व संकटका बाबजुद आगामी धान सिजनका लागि मलको पूर्वतयारी राम्रो छ, तर संकट लम्बिए आपूर्ति शृङ्खलामा गम्भीर असर पर्न सक्छ ।

यस्तो अवस्थामा कूटनीतिक पहल गर्ने र प्राङ्गारिक मल प्रवर्द्धन गर्ने दायित्व नयाँ मन्त्रीको काँधमा छ ।

नयाँ कृषिमन्त्रीसँग किसानका अपेक्षा

उनले तत्काल किसानका दैनिक समस्यालाई प्राथमिकता दिनुपर्ने देखिन्छ ।

धनुषाको बटेश्वर गाउँपालिका-२ का किसान रामनाथ महतोका अनुसार मधेसका किसानले भोग्दै आएको मुख्य समस्या भनेको सिँचाइ, समयमा रासायनिक मल अभाव र कृषि उपजको बजारीकरण हो ।

सरकारले किसानका लागि भनेर ल्याएका योजना र घोषणा गरेका राहत समेत भुइँतहसम्म पुग्न नसकेको महतोको गुनासो छ ।

कृषिको मुख्य आधार सिँचाइ भए पनि गाउँमा भूमिगत सिँचाइ र कुलोपैनीका थुप्रै योजना वर्षौंदेखि अलपत्र अवस्थामा रहेको महतो बताउँछन् ।

‘सिँचाइका लागि भनेर गाउँमा बोरिङहरू त गाडिएका छन्, तर ती अलपत्र अवस्थामा छन्, सञ्चालनमा ल्याइएको छैन,’ महतोले भने, ‘कुलोपैनीका योजना पनि पूरा भएका छैनन्, खेतीको समयमा न सिँचाइको सुविधा छ, न त मलखाद नै पाइन्छ, किसानलाई चाहिएको मुख्य कुरा नै यही हो, यो नवर्निवाचित मन्त्रीजीले समाधानका लागि प्रयास गर्नुहुन्छ भन्ने अपेक्षा छ ।’

सिँचाइ र मल अभाव झेल्दै जेनतेन उत्पादन गरेको कृषि उपजले पनि बजारमा उचित मूल्य नपाउने अर्को ठूलो समस्या रहेको महतोले बताए ।

उनका अनुसार दु:ख गरेर उब्जाएको तरकारी बजारमा बेच्न जाँदा किसानले लगानी समेत उठाउन सक्दैनन् । बजारीकरणको उचित व्यवस्था नहुँदा बिचौलियाले फाइदा लिने र किसान सधैं मारमा पर्ने अवस्था छ ।

घोषणा भयो, तर पाएनन् राहत

विगतमा बेमौसमी वर्षा र प्राकृतिक प्रकोपका कारण बालीनालीमा ठूलो क्षति पुग्दा सरकारले मधेसलाई ‘संकटग्रस्त क्षेत्र’ घोषणा गरेको थियो । तर, घोषणाको लामो समय बितिसक्दा पनि किसानले एक रुपैयाँ पनि राहत नपाएको गुनासो महतोको छ ।

‘क्षति भएपछि प्रदेश सरकारले राहत दिने निर्णय त गर्‍यो, तर त्यो निर्णय कहिल्यै कार्यान्वयनमा आएन,’ महतोले भने, ‘राहत कसैले केही पनि पाएनन्, किसानलाई सधैं आश्वासन मात्र बाँड्ने काम भयो ।’

महोत्तरीको एकडारा गाउँपालिका–२ का किसान अशेश्वर भण्डारीको दैनिकी खेतबारीमै बित्छ । तर, सिँचाइको भरपर्दो सुविधा नहुँदा सधैं चिन्तामा डुब्ने गरेको उनी बताउँछन् । राज्यले सिँचाइको व्यवस्था गरिदिए उत्पादन बढाउन सकिने उनको भनाइ छ ।

 

‘हाम्रो जीविकोपार्जनको एउटै आधार भनेको यही खेतीपाती नै हो,’ भण्डारी भन्छन्, ‘हामीलाई खानेपानी र खेतीपाती दुवैका लागि तत्कालै बोरिङको आवश्यकता छ, गाउँमा बोरिङको व्यवस्था भयो भनेमात्र हाम्रो खेतीपाती राम्रो हुन्छ र जीवन सहज रूपमा अगाडि बढ्छ ।’

सोही ठाउँका अर्का स्थानीय किसान महेश्वर भण्डारीको व्यथा पनि उस्तै छ । कृषिबाटै सिंगो परिवारको जीवनजीविका चलिरहेको बताउने उनी खेतीको समयमा हुने सिँचाइ र मलको अभावले किसानलाई सधैं निराश बनाउने गरेको बताउँछन् ।

‘हाम्रो जीवनजीविका कृषिबाटै चल्छ, यसबाहेक हाम्रो अर्को कुनै विकल्प छैन,’ महेश्वरले भने, ‘सरकारले सिँचाइका लागि गाउँमा नहर र कुलोको भरपर्दो व्यवस्था गरिदिनुपर्छ, अनि बाली लगाउने मुख्य समयमा मलखाद पाउनुपर्छ, यति भयो भनेमात्र हामी किसानको जीवन चल्छ ।’

महोत्तरीका अशेश्वर, महेश्वर र धनुषा बटेश्वरका किसान रामनाथ महतोले उठाएका यी समस्या सोही क्षेत्रका मात्र नभई आमनेपाली किसानका साझा भोगाइ हुन् ।

एकातिर मध्यपूर्वको संकटले आगामी दिनमा रासायनिक मल आपूर्तिमा जोखिम बढाएको छ भने अर्कातिर गाउँमा बनेका सिँचाइका पूर्वाधार समेत अलपत्र छन् ।

विज्ञहरूका अनुसार मन्त्री चौधरीले दीर्घकालीन नीतिगत निर्णय गर्न नसके पनि भविष्यका लागि आधारहरू तयार पार्न सक्छिन् । जस्तै, रासायनिक र विषादीले हाम्रो माटोको स्वास्थ्य कसरी बिगार्दैछ भन्नेबारे किसान र उपभोक्तालाई सचेत गराउने अभियान चलाउन सकिन्छ । साथै, विषाक्त खेतीपाती विरुद्ध राष्ट्रिय संवादको थालनी गर्दै कृषि सुधारमा राष्ट्रिय सहमति निर्माणको प्रयास गर्नुपर्छ ।

कृषिमन्त्रीलाई विज्ञको सुझाव : ६ महिनाभित्र वास्तविक किसान चिनौं, वनलाई कृषिसँग जोडौं

नवनियुक्त कृषिमन्त्री गीता चौधरीसामु नीतिगत, संरचनागत र बजेट अभावका ठूला चुनौती रहे पनि उनले वन तथा वातावरण मन्त्रालयको समेत जिम्मेवारी पाएकाले नेपालको वन क्षेत्रमा रूपान्तरण ल्याउने एउटा ऐतिहासिक अवसर पनि उनीसँग रहेको विज्ञको भनाइ छ ।

कृषि विज्ञ उद्धव अधिकारीका अनुसार नयाँ मन्त्रीले परम्परागत कर्मचारीतन्त्रको घेरा तोडेर भुइँतहका किसानमुखी नीति नल्याएसम्म कृषिमा सुधार सम्भव छैन ।

मन्त्रालयको ‘स्थायी सरकार’ अर्थात् कर्मचारी संयन्त्रको काम गर्ने पुरानै शैली (स्कुलिङ) परिवर्तन गर्नु नयाँ मन्त्रीका लागि पहिलो चुनौती भएको उनी बताउँछन् ।  त्यस्तै कृषिको बजेट सिलिङ घटेर आउनु अर्को ठूलो समस्या हो ।

‘विगतमा ५९ अर्ब हाराहारीमा रहेको बजेट सिलिङ अहिले घटेर ५४/५५ अर्बमा झरेको छ,’ अधिकारीले भने, ‘बजेट नै नदिई कृषिको विकास कसरी गर्न सकिन्छ ? उत्पादनमा आधारित क्षेत्रका लागि बजेट वृद्धि गर्नु र अनुसन्धान तथा प्रसारमा लगानी बढाउनु अनिवार्य छ ।’

अहिलेसम्म राज्यले वास्तविक किसान को हुन् भनेर चिन्न नसक्नु नै कृषि मन्त्रालयको सबैभन्दा ठूलो विफलता रहेको अधिकारीले बताए । पहुँचवालाले मात्र राज्यको सुविधा लिइरहेको उनी बताउँछन् ।

‘नयाँ मन्त्रीले अबको ६ महिनाभित्र वास्तविक किसानको पहिचान र वर्गीकरण गरेर परिचयपत्र उपलब्ध गराउनुपर्छ, यो गर्न सके मन्त्रीको ठूलो उपलब्धि हुनेछ,’ उनले थपे ।

रासायनिक मल अभाव सधैं राजनीतिक मुद्दा बन्ने गरेको छ । असारसम्मका लागि टेन्डर आह्वान भए पनि केही टेन्डर फेल भएकाले आगामी दिनमा मल आपूर्तिमा समस्या आउन सक्ने जोखिम अधिकारीले औँल्याए । तर, मलको दीर्घकालीन समाधान रासायनिक मलमात्र नभएको उनको तर्क छ ।

मन्त्री चौधरीले वन मन्त्रालय पनि सम्हालेकाले यो निकै ठूलो अवसर भएको अधिकारी बताउँछन् । ‘देशको ४६ प्रतिशत भूभाग ओगटेको वन क्षेत्रको ‘बायोमास’ लाई प्राङ्गारिक मल उत्पादनमा जोड्न सकिन्छ,’ उनले भने, ‘वन नबिगारी वनभित्रै फलफूल र अन्य कृषि उत्पादन गर्न सक्ने ठूलो सम्भावना छ, वनलाई कृषिसँग जोडेर उत्पादन बढाउने नीति ल्याउनुपर्छ ।’

नेपालका हालका कृषि नीतिहरू विदेशी अभ्यासमा आधारित र समथर भूभागलाई मात्र हेरेर बनाइएको (आयातित) हुँदा हाम्रो भूगोल सुहाउँदो नभएको अधिकारीको विश्लेषण छ ।

उनले नेपालको आफ्नै हावापानी, माटो र सांस्कृतिक खेतीपाती समेट्ने गरी ‘कृषि ऐन’ निर्माण गर्नुपर्नेमा जोड दिए । साथै, २०६१ सालको कृषि नीति समयानुकूल संशोधन गर्नुपर्ने र ‘खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐन’ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने उनको सुझाव छ ।

तीन तहका सरकारबीच समन्वय अभाव

संविधानले कृषिलाई स्थानीय तहसम्म अधिकार दिए पनि केन्द्र, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा योजनाहरू अलपत्र परेको अधिकारीले बताए ।

‘संघीय सरकारले नीति बनाउँछ, तर स्थानीय तहले मान्दैनन् या कार्यान्वयन गर्दैनन्, यो समन्वयहीनता अन्त्य गर्नु अर्को ठूलो चुनौती हो,’ उनले भने ।

अन्त्यमा, भुइँतहमा दलित, सीमान्तकृत र गरिब किसानको पक्षमा नि:शुल्क वकालत गरेर आएकी मन्त्री गीता चौधरीसामु अब सिंगो देशका किसानको पक्षमा नीतिगत वकालत गर्ने अवसर छ ।

विगतका मन्त्रीहरूले जस्तै कर्मचारीको भरमा परेर पुरानै गल्ती दोहोर्‍याउने कि आफ्नो अनुभव प्रयोग गरेर ठोस नतिजा दिने भन्ने छनोट उनकै हातमा छ । उनले मन्त्रालयको पुरानै भिडमा आफूलाई हराउन नदिई साना किसानको पक्षमा काम गर्ने आँट गर्नुपर्ने छ ।





Source link

Releated Posts

LARRY KUDLOW: Trump has smashed Iran’s capabilities for decades

FOX Business host Larry Kudlow discusses what is next in efforts to end the Iran conflict on ‘Kudlow.’…

ByByNews on SantoshHub Jun 17, 2026

AbbVie: Maintaining My Strong Buy Rating After Label Expansion

AbbVie: Maintaining My Strong Buy Rating After Label Expansion Source link

ByByNews on SantoshHub Jun 17, 2026

Rivian lays off hundreds in service division as it restructures teams

SlateStone Wealth chief market strategist Kenny Polcari discusses whether investors are too dependent on AI, Space X’s IPO…

ByByNews on SantoshHub Jun 17, 2026

Five International Dividend Growers Your Screen Is Distorting

This article was written by Follow Dr. Joseph E. Jones is a professor at The University of Southern…

ByByNews on SantoshHub Jun 17, 2026

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to Top