काठमाडौं– रिलायन्स स्पिनिङ मिल्सको साधारण सेयर निष्काशनपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दोस्रो बजारका लागि मूल्य घटाएर तोकेपछि चर्को विवाद सिर्जना भएको छ ।
नेप्सेले गत सोमबार बुक बिल्डिङ प्रणालीबाट सर्वसाधारणमा निष्काशन भएको रिलायन्स स्पिनिङ मिल्सको १९ लाख २६ हजार ६ सय कित्ता साधारणसहित १ करोड ९० लाख कित्ता सेयर सूचीकरण गरेको छ ।
तर, नेप्सेले यो कम्पनीको सेयर कारोबारका लागि ओपनिङ रेञ्ज एक सयदेखि ३ सय रुपैयाँ प्रतिकित्ता निर्धारण गरेको छ । जबकि रिलायन्सले बुक बिल्डिङ प्रणालीबाट निष्काशन गरेको संस्थागत लगानीकर्तालाई ९१२ रुपैयाँ प्रतिकित्ताको दरमा ७ लाख ७० हजार ६४० कित्ता र १० प्रतिशत छुटमा सर्वसाधारणलाई ८२० रुपैयाँ ८० पैसा प्रतिकित्ताको दरमा बिक्री गरेको थियो । यसलाई नियामक निकाय धितोपत्र बोर्ड र नेप्से दुवैले स्वीकार गरेका थिए ।
रिलायन्सले योग्य संस्थागत लगानीकर्ताबाट शीलबन्दीमा ६०८ देखि ९१२ रूपैयाँको आवेदन लिएको थियो । आईपीओ मार्फत लगानीकर्ताबाट रकम उठाइसकेको अवस्थामा नेप्सेले लगानीकर्ताको सम्पत्तिको मूल्य फेरि ३ सय रुपैयाँ कायम गरेको छ । यही नै विवादको विषय बनेको हो ।
एकातिर बोर्डले बुक बिल्डिङका लागि अनुमति दिँदै जाने र अर्कोतिर नेप्सेले सो मूल्य कटौती गराएर मूल्य कायम गरेको छ । यसरी मूल्य घटाएपछि नेप्से विवादित मात्रै बनेको छैन, बुक बिल्डिङमाथि नै प्रश्न उठेको छ ।
जानकारहरूले नेप्सेको यो कदम बुक बिल्डिङको मर्मविपरीत भएको बताएका छन् । नेप्सेले नेटवर्थका आधारमा मूल्य कायम गरेको हो । तर, विगतका अभ्यास विपरीत नेप्से अगाडि बढ्दा लगानीकर्ताको सम्पत्तिको मूल्य घट्न पुगेको हो ।
बुक बिल्डिङको मर्ममा नेप्सेले प्रहार गरेको यो घटनाले मुलुक अन्तर्राष्ट्रिय पुँजी बजार नीति विपरीत रहेको र लगानीकर्ताको हितमा नरहेको स्पष्ट देखिएको जानकारहरुको भनाइ छ । नेप्सेका एक पदाधिकारीको जिकिर छ, ‘नेप्सेको सञ्चालक समिति निकम्मा बन्नु र उसले सही निर्णय दिन नसक्नुले नेप्सेको औचित्यमाथि नै प्रश्न खडा गरेको छ ।’ ती अधिकारी आफूले खुलेर बोल्ने अवस्था नभएको भन्दै समयले नेप्सेलाई सही दिशामा लैजान नसक्ने दाबी गर्छन् ।
बोर्डका पूर्वकार्यकारी निर्देशक निरज गिरी बजारले मूल्य निर्धारण गर्ने विधि बुक बिल्डिङ अन्तर्राष्ट्रिय रूपमै राम्रो विधि भएको बताउँछन् । ‘बजारले मूल्य निर्धारण गरिसकेपछि नेप्सेले पनि यो मूल्य ठीक छ भनिसकेको अवस्थामा फेरि आफ्नै निर्णय कसरी काट्न सक्यो ? यो गम्भीर प्रश्न हो,’ उनले भने । पहिले नै नेप्सेले बजारले निर्धारण गरेको मूल्य स्वीकार गरिसकेपछि अहिले योभन्दा बढीमा कारोबार गर्न पाउँदैनौं भन्नु प्रतिशोध साँधिएको जस्तो देखिएको उनले बताए ।
नेप्सेले सहजीकरण गर्नुपर्नेमा अझ अप्ठ्यारोमा पार्ने अवस्था सिर्जना भएको उनी बताउँछन् । नियामकले दिएको नियमअनुसार मूल्य निर्धारण भएर आएकोमा पनि फेरि मूल्य घटाउने काम गर्नु कुनै हालतमा ठीक नभएको गिरीको भनाइ छ । संसारभर नै ट्रयाक रेकर्ड नभएका कम्पनी पनि बुक बिल्डिङमा जान मिल्ने अभ्यास रहेकोमा हाम्रोमा राम्रा कम्पनी आउँदा पनि बाटो छेक्ने काम भएको उनी बताउँछन् । बुक बिल्डिङमै शंका हो भने नियामकले यसलाई पुनर्विचार गर्ने अवस्था आउनुपर्नेमा उनले जोड दिए । तर अहिले त्यसो नगरेर मूल्य बजारलाई नै छाड्नुपर्ने उनको तर्क छ ।
विगतको अभ्यास के छ ?
यसअघि नेप्सेले कम्पनीहरूको प्रतिसेयर नेटवर्थको तीन गुणासम्मको मूल्यलाई ओपनिङ रेञ्जको माथिल्लो सीमा मान्दै आएको थियो । दुई वर्षअघि बुक बिल्डिङ प्रणालीबाट पहिलो पटक सेयर निष्काशन गरेको सर्वोत्तम सिमेन्टको सेयरमा ४०१ देखि ६०१ रूपैयाँसम्मको रेञ्जमा आवेदन लिएको थियो । सो कम्पनीको पहिलो कारोबार मूल्य १८५ रुपैयाँ ३६ पैसादेखि ५५६ रूपैयाँ ८ पैसासम्मको रेञ्ज नेप्सेले दिएको थियो ।
सर्वोत्तम सिमेन्टलाई प्रतिसेयर नेटवर्थका आधारमा ओपनिङ रेञ्ज प्रदान गरेको नेप्सेले अहिले चालु आवको पहिलो त्रैमासमा २४२ रुपैयाँ नेटवर्थ भएको रिलायन्स स्पिनिङ मिल्सलाई १०० देखि ३०० रुपैयाँको रेञ्ज दिएको हो ।
बोर्डबाट समेत स्वीकृत भएको सो नेटवर्थका आधारमा तीन गुणासम्मको ओपनिङ रेञ्ज दिँदा पनि ७२६ रूपैयाँसम्ममा कम्पनीको पहिलो कारोबार हुन सक्ने देखिन्छ । जुन मूल्य लगानकर्ताले स्वीकार गरेको ८२० रूपैयाँ र ९१२ रूपैयाँभन्दा तल हुन आउँछ । तर, नेप्सेले साधारण प्रक्रियाबाट सेयर निष्काशन गरेका कम्पनीको भन्दा तल्लो मूल्य अर्थात् अंकित मूल्य रूपैयाँको आधारमा तीन गुणासम्म अर्थात् ३०० रूपैयाँसम्मको रेञ्ज दिएको छ । यसले बुक बिल्डिङ प्रणालीको औचित्यमा प्रश्न उठाउने काम गरेको विज्ञहरूले बताएका छन् ।
बोर्डले माग्यो जवाफ
रिलायन्सको बजार मूल्य घटाएर तोकेपछि नियामक धितोपत्र बोर्डले नेप्सेसँग जवाफ मागेको थियो । नेप्सेले त्यसमा विगतको अभ्यास भन्दै बचाउ गर्न खोजेको छ ।
बोर्डलाई पठाउन तयार पारिएको जवाफमा नेप्सेले विशेषगरी रिलायन्सको सूचीकरणका क्रममा देखिएको प्राविधिक जटिलता र नेटवर्थमा देखिएको अन्योलका कारण वर्षौंदेखिको अभ्यास परिवर्तन गर्नुपरेको दाबी गरिएको नेप्से स्रोत बताउँछ ।
रिलायन्सको सेयर सूचीकरण गर्ने प्रक्रिया अघि बढाउँदा कम्पनीले पेस गरेका विभिन्न वित्तीय विवरणहरूमा फरक–फरक नेटवर्थ देखिएको नेप्सेका एक अधिकारीले बताए । कम्पनीको अडिट भएको प्रतिवेदन, अडिट नभएको प्रतिवेदन र भविष्यको प्रक्षेपण गरिएको प्रतिवेदनमा नेटवर्थको अंक एकैनासको नभएपछि नेप्सेका कर्मचारीहरू कुन अंकलाई आधार मानेर ओपनिङ रेन्ज तोक्ने भन्नेमा अन्योलमा परेको ती अधिकारीको भनाइ छ ।
एउटा नेटवर्थलाई आधार मान्दा मूल्य निकै माथि जाने र अर्कोलाई मान्दा निकै तल आउने अवस्था आएपछि नेप्सेले यो विषयलाई आफ्नो सञ्चालक समितिमा निर्णयका लागि पठायो । सञ्चालक समितिले कर्मचारीहरूलाई कुनै नयाँ वा हचुवाका भरमा निर्णय गर्नुभन्दा पनि नेप्सेमा रहेका ‘विद्यमान कानुनी व्यवस्था’ अनुसार अगाडि बढ्न निर्देशन दिएको ती अधिकारी बताउँछन् ।
सञ्चालक समितिको यो निर्देशनपछि नेप्सेले २०६८ मा भएको एक व्यवस्थालाई आधार बनायो । सो व्यवस्थामा सेयरको पहिलो कारोबारका लागि मूल्यको सीमा (रेञ्ज) तोक्दा कम्पनीको नेटवर्थ वा अंकित मूल्य (फेस भ्यालु) मध्ये कुनै एकलाई आधार बनाउन सकिने प्रावधान थियो ।
रिलायन्सको नेटवर्थमा देखिएको विवाद र अन्योल चिर्न नेप्सेले त्यही पुरानो व्यवस्थालाई प्रयोग गर्ने निर्णय गर्यो । सोही निर्णयका आधारमा नेप्सेले रिलायन्स स्पिनिङ मिल्स र सालपा विकास बैंकको पहिलो कारोबारका लागि अंकित मूल्य १०० रुपैयाँलाई आधार मानेर त्यसको तीन गुणा अर्थात् ३०० रुपैयाँसम्मको अधिकतम रेञ्ज तोकेको भनाइ नेप्सेको छ ।
बोर्डमा भने नेप्सेको जवाफ पुगिसकेको छैन । बोर्डका एक अधिकारीले कारोबारसँग भने, ‘आधिकारिक रूपमा पत्र प्राप्त गरेका छैनौं । यसबारे पत्र आएपछि मात्रै बुझ्छौं ।’ फागुन १२ गतेसम्मको कारोबार विवरण हेर्दा रिलायन्सको मूल्य निरन्तर बढेर ४७२ रुपैयाँ २० पैसा पुगेको भए पनि सर्वसाधारण लगानीकर्ता अझै पनि घाटामा छन् । अब नेप्सेको पत्र पाएपछि धितोपत्र बोर्डले के कस्तो कदम चाल्छ भन्नेतिर सबैको चासो छ ।


















