काठमाडौं– चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा वाणिज्य बैंकहरूको नाफामा सुधार भएको छ । तर, नाफा बढाउने बैंकको संख्या ११ मात्रै छ । बाँकी ९ बैंकको नाफामा भने गिरावट आएको छ ।
चालु आवको दोस्रो त्रैमाससम्ममा बैंकहरूले ३० अर्ब ५९ करोड रुपैयाँ नाफा कमाएका छन् । यो नाफा गत आवको पुससम्मको तुलनामा ११.५१ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरूले २७ अर्ब ४३ करोड नाफा आर्जन गरेका थिए ।
दोस्रो त्रैमासमा बैंकहरूको निष्क्रिय कर्जा बढेर औसतमा ५.०८ प्रतिशत पुगेको छ । गत आवमा बैंकहरूको यस्तो कर्जा ४.४९ प्रतिशत थियो । यस अवधिमा ८ वटा वाणिज्य बैंक निष्क्रिय कर्जा घटाउन सफल भएका छन् । बाँकी १२ बैंकको भने यस्तो कर्जा बढेको छ ।
निष्क्रिय कर्जा बढ्दा बैंकहरूले सम्भावित कर्जा नोक्सानीका लागि राख्ने प्रोभिजन रकम पनि बढेको छ । बैंकहरुले चालु आवको दोस्रो त्रैमासमा २८ अर्ब ७५ करोड रुपैयाँ कर्जा नोक्सानी व्यवस्थामा छुट्याएका छन् । गत आवको दोस्रो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा वाणिज्य बैंकहरूले १६.५४ प्रतिशत बढी प्रोभिजन गर्नुपरेको हो । गत आवको सोही अवधिमा बैंकहरूले २४ अर्ब ६७ करोड कर्जा नोक्सानी व्यवस्थामा छुट्याएका थिए ।
विगतको तुलनामा नाफामा केही राम्रो अवस्था देखिए पनि निष्क्रिय कर्जामा दबाब कायमै रहेको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली बताउँछन् । ‘एसेट क्वालिटी मुस्किलले मेन्टेन भएको अवस्था छ । सुस्त अर्थतन्त्रको कारण दबाब छ,’ उनले भने ।
यसैगरी एभरेष्ट बैंकका सीईओ सुदेश खालिङले सुस्त अर्थतन्त्रको अवस्थामा वाणिज्य बैंकहरूको यस किसिमको वित्तीय विवरण अपेक्षित रहेको बताए । उनले भने, ‘निष्क्रिय कर्जाको दबाब एकदम धेरै छ । अहिलेको परिस्थितिमा पनि नाफामा सुधार हुनु सन्तोषजनक नै मान्नुपर्छ ।’
केन्द्रीय बैंकले कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरणको लचकता अपनाउँदा पनि अवस्था सुध्रन नसकेको खालिङ बताउँछन् । अर्थतन्त्र चलायमान नभएको अहिलेको अवस्थामा बैंकहरूमा नयाँ कर्जाको माग नदेखिएको उनले बताए ।
कुन बैंकको नाफा कति ?
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नबिल बैंकले सबैभन्दा धेरै ४ अर्ब ७५ करोड नाफा कमाएको छ । बैंकले त्रिशूली जलविद्युत आयोजनाको काउन्टर ग्यारेन्टीको रकम चीनमा मुद्दा जितेर ल्याएको थियो । शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था गरिसकेको एक अर्ब रुपैयाँभन्दा बढी रकम आउँदा बैंकले कर्जा नोक्सानी व्यवस्थाबाट करिब ५ करोड रुपैयाँ रिभर्स गरेको छ । यसले गर्दा नबिल बैंकको नाफा ४६.७१ प्रतिशतले बढेको हो ।
यस्तै, ग्लोबल आइएमई बैंकको नाफा ६.५० प्रतिशतले बढेर ३ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । कुमारी बैंकको नाफामा पनि सुखद् वृद्धि हुँदै २ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । यस्तै, एभरेष्ट बैंकको नाफा २ अर्ब ११ करोड पुग्दा प्राइम कमर्सियल बैंकको नाफा ९.२७ प्रतिशतले बढेको छ ।
राष्ट्रिय वाणिज्य बैंकको नाफा १ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ भने सिद्धार्थ बैंकको नाफा १५०.२३ प्रतिशतले बढेर १ अर्ब ३२ करोड र नेपाल बैंकको नाफा १८३.०६ प्रतिशतले बढेर १ अर्ब ३० करोड रुपैयाँ पुगेको छ ।
एनएमबि बैंकको नाफा भने १७.७१ प्रतिशतले घटेर १ अर्ब ६४ करोडमा झरेको छ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नाफा ४३.०५ प्रतिशतले घटेर १ अर्ब ६१ करोड कायम भएको छ ।
लक्ष्मी सनराइज बैंकले नोक्सानीमा रहेको वित्तीय विवरण प्रकाशित गर्दा एनआईसी एशियाको नाफा १३.५१ प्रतिशतले घटेर १३ करोड १२ लाख रुपैयाँ मात्रै छ ।
सिटिजन्स बैंकको नाफा ४५.७७ प्रतिशतले घट्दा कृषि विकास बैंकको नाफामा २६.१२ प्रतिशतको गिरावट आएको छ । प्रभु बैंकको नाफा २४.०७ प्रतिशतले घटेको छ ।
हिमालयन बैंकको नाफा १४.८९ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकको १६.२९ प्रतिशतले घटेको छ । अर्बभन्दा कम नाफा हुनेमा नोक्सानीमा रहेको लक्ष्मी सनराइजसँगै एनआईसी एशिया, सिटिजन्स र कृषि विकास बैंक मात्रै छन् ।
कुन कुन बैंकले घटाए निष्क्रिय कर्जा ?
चालु आवको पुससम्ममा अधिकांश वाणिज्य बैंकको निष्क्रिय कर्जा बढ्दा नबिल, नेपाल एसबिआई बैंक, सिद्धार्थ बैंक लगायत आठ बैंकको घटेको छ ।
राष्ट्र बैंकले गत आर्थिक वर्षमा निक्षेपमा लगानी गर्दा कुल निष्क्रिय कर्जा ५ प्रतिशत हुनुपर्ने व्यवस्थालाई बढाएर ८ प्रतिशत पुर्याएको थियो । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा केही बैंकको निष्क्रिय कर्जा घटे पनि केहीको भने ८ प्रतिशत नजिक पुगेको छ ।
चालु आवको दोस्रो त्रैमाससम्ममा सबैभन्दा धेरै निष्क्रिय कर्जा हिमालयन बैंकको छ । गत आवको दोस्रो त्रैमासमा ४.९८ प्रतिशत रहेको यो बैंकको निष्क्रिय कर्जा बढेर चालु आवको दोस्रो त्रैमासमा ७.९६ प्रतिशत पुगेको छ । त्यस्तै, प्रभु बैंकको निष्क्रिय कर्जा ५.०६ प्रतिशतबाट बढेर ७.९४ प्रतिशत पुग्दा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ५.८६ प्रतिशतबाट बढेर ७.९० प्रतिशत र एनआईसी एशिया बैंकको ४.६१ प्रतिशतबाट बढेर ७.४७ प्रतिशत पुगेको छ ।
नेपाल एसबिआई बैंकको निष्क्रिय कर्जा ३.५५ प्रतिशतबाट घटेर २.४६ प्रतिशतमा झरेको छ । त्यस्तै, सिद्धार्थ बैंकको निष्क्रिय कर्जा १.०५ प्रतिशत बिन्दुले घटेर ३.४५ प्रतिशतमा झरेको छ । नबिल बैंकको निष्क्रिय कर्जा ०.६८ प्रतिशत बिन्दुले घटेर ४.२५ प्रतिशतमा झरेको छ । राष्ट्रिय वाणिज्य बैंकको निष्क्रिय कर्जा ०.६० प्रतिशत बिन्दुले घटेर ४.३६ प्रतिशतमा झरेको छ । त्यस्तै, माछापुच्छ«े बैंकको निष्क्रिय कर्जा ०.२९ प्रतिशत बिन्दुले घटेर ४.२५ प्रतिशत हुँदा कृषि विकास बैंकको ०.२५ प्रतिशत बिन्दुले घटेर ४.६५ प्रतिशत र कुमारी बैंकको ०.०४ प्रतिशत बिन्दुले घटेर ६.९२ प्रतिशतमा झरेको छ ।
निष्क्रिय कर्जा बढेसँगै अधिकांश बैंकको सम्भावित कर्जा नोक्सानी व्यवस्थामा गरिएको प्रोभिजन रकम पनि बढेको छ । चालु आवको दोस्रो त्रैमासमा लक्ष्मी सनराइज, नेपाल इन्भेष्टमेण्ट मेगा र एनआईसी एशिया बैंकले धेरै रकम प्रोभिजन गरेका छन् । लक्ष्मी सनराइजले ४ अर्ब ४७ करोड रुपैयाँ प्रोभिजनका लागि छुट्याएको छ । गत आवको सोही अवधिमा १ अर्ब ९२ करोड रुपैयाँमात्रै प्रोभिजन गर्नुपरेको थियो ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले कर्जा नोक्सानी व्यवस्थामा छुट्याएको रकम ७४.५९ प्रतिशतले बढेर ३ अर्ब ९ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, एनआईसी एशिया बैंकको ३.११ प्रतिशतले बढेर २ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ ।
ग्लोबल आइएमई बैंकले कर्जा नोक्सानी व्यवस्थामा छुट्याएको रकम ८.९१ प्रतिशतले बढेर २ अर्ब ४० करोड पुग्दा सिटिजन्स बैंकको ३२.२९ प्रतिशतले बढेर १ अर्ब ८३ करोड रुपैयाँ छ ।
कृषि विकास बैंकको कर्जा नोक्सानी व्यवस्थामा छुट्याएको रकम ९०.०२ प्रतिशतले बढेर १ अर्ब ६२ करोड ९४ लाख रुपैयाँ पुगेको छ । त्यस्तै एनएमबि बैंकको कर्जा नोक्सानी व्यवस्थाको रकम ३५० प्रतिशतले बढेर १ अर्ब ५५ करोड २२ लाख रुपैयाँ र कुमारी बैंकको भने ५३.९४ प्रतिशतले घटेर १ अर्ब ५० करोड ७५ लाख रुपैयाँमा झरेको हो ।
राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ४७ करोड, प्रभु बैंकले १ अर्ब ४५ करोड, सिद्धार्थ बैंकले १ अर्ब ४५ करोड, प्राइम कमर्सियल बैंकले १ अर्ब १५ करोड, सानिमा बैंकले १ अर्ब ७ करोड र हिमालयन बैंकले १ अर्ब ३ करोड रुपैयाँ कर्जा नोक्सानी व्यवस्थामा छुट्याएका छन् ।
नबिल बैंकले ४ करोड ८८ लाख रुपैयाँ प्रोभिजन राइटब्याक गरेको छ । यस्तै, गत आर्थिक वर्षको दोस्रो त्रैमासमा २५ करोड ८ लाख रुपैयाँ प्रोभिजन राइटब्याक गरेकोमा चालु आवको सोही अवधिमा ४.६४ लाख रुपैयाँ कर्जा नोक्सानी व्यवस्थामा छुट्याएको छ ।

















