काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३२.०८ अंकले घटेर २ हजार ८४३.३५ विन्दुमा कायम भएको छ । मंगलबारको सेयर बजारमा तीव्र उतारचढावका बीच कारोबार रकम भने करिब आठ महिनाकै उच्च भएको छ ।
आइतबार तीन पटक सकारात्मक सर्किट ब्रेक लागेसँगै कारोबार स्थगित भएको थियो । आइतबार ६ प्रतिशत बढेर कारोबार स्थगित भएको थियो भने मंगलबार २१ अर्ब ५० करोड २० लाख ३१ हजार ३२० बराबरको सेयर किनबेच भएकाे छ । मंगलबार ७८ कम्पनीको मूल्य बढ्दा १७८ कम्पनीको घट्यो भने ५ कम्पनीको स्थिर रह्यो ।
मंगलबार धेरै कारोबार भएका पाँच कम्पनीमा ङादी ग्रुप, आँखुखोला जलविद्युत्, अपी पावर, रिडी पावर र शिवम् सिमेन्ट अगाडि रहेका छन् । बजारमा म्युचुअल फण्ड, जीवन बीमा र निर्जीवन बीमा कम्पनीमा सुधार देखिँदा बाँकी समूहका सूचक घटेका छन् ।
निर्जीवन बीमा ०.४७ र जीवन बीमा ०.५१ प्रतिशत बढे । बैंकिङ १.२७, विकास बैंक १.१६, फाइनान्स २.०६, होटल तथा पर्यटन १.८५, जलविद्युत् १.४५, लगानी १.४८, उत्पादन तथा प्रशोधन १.८२, माइक्रोफाइनान्स ०.१७, अन्य १.४० र व्यापार २.१२ प्रतिशत घटे ।
मंगलबार दुई कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स र साल्पा विकास बैंक छन् । थ्रीस्टार हाइड्रोपावरको ९.०८, कालिका पावरको ८.८७ तथा लाइफ इन्स्योरेन्स कर्पोरेसनको ५.४२ प्रतिशत मूल्य बढ्यो ।
हिमस्टार ऊर्जाको मूल्य सबैभन्दा धेरै ६.३६ प्रतिशत घट्यो । मंगलबार बजार समग्रमा घटे पनि केही कम्पनीका लगानीकर्ताहरूले भने उच्च नाफा कमाएका छन् ।

















