काठमाडौं– अन्य क्षेत्रबाट कर्जाको माग सुस्ताउँदा वाणिज्य बैंकहरुले भने सेयर बजारमा कर्जा लगानी बढाएका छन् । सेयर बजारमा वाणिज्य बैंकहरुले आक्रामक ढंगले कर्जा प्रवाह गरिरहेका हुन् ।
राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको विवरण अनुसार, २० वाणिज्य बैंकमध्ये १९ वटाले १ खर्ब ३३ अर्ब ७ करोड ६५ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् । यी बैंकहरुले गत आवको माघसम्म ९३ अर्ब १२ करोड ४९ लाख रुपैयाँ सेयर कर्जा दिएका थिए । यस अवधिमा बैंकहरुले प्रवाह गरेको सेयर कर्जा गत आवको तुलनामा ४२.९० प्रतिशतले बढेको छ ।
यो अवधिसम्म सबैभन्दा धेरै सेयर कर्जा दिने बैंकमा नबिल रहेको छ भने वृद्धिदरका हिसाबले कृषि विकास बैंक अगाडि रहेको छ । गत आवको माघसम्मको तुलनामा चालु आवको सोही अवधिमा १७ वटा बैंकबाट गएको सेयर कर्जा बढेको छ । सिटिजन्स र नेपाल बैंकले सेयर कर्जा प्रवाह घटाएका छन् भने स्ट्याण्डर्ड चार्टर्ड बैंकले यो शीर्षकमा कर्जा प्रवाह गरेको छैन ।
चालु आवको माघसम्म नबिल बैंकले १७ अर्ब ५० करोड ३३ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेको छ, जुन गत आवको माघसम्मको तुलनामा ३५.०६ प्रतिशतले बढी हो । गत आवको माघसम्ममा बैंकले १२ अर्ब ९५ करोड ९५ लाख रुपैयाँ सेयर कर्जा दिएको थियो ।
दोस्रो धेरै सेयर कर्जा प्रवाह गर्नेमा ग्लोबल आइएमई बैंक रहेको छ । गत आवको माघसम्म ११ अर्ब ६४ करोड ९१ लाख रुपैयाँ सेयर कर्जा दिएको बैंकले समीक्षा अवधिसम्म १५ प्रतिशतले बढाएर १३ अर्ब ३९ करोड ६९ लाख रुपैयाँ पुर्याएको छ ।
धेरै सेयर कर्जा दिने कुमारी तेस्रो बैंक हो । यो बैंकले चालु वर्षको माघसम्म १० अर्ब ५९ करोड ३४ लाख रुपैयाँ सेयर कर्जा दिएको छ । गत आवको माघसम्ममा बैंकले ८ अर्ब ६४ करोड २० लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेको थियो । गत आवको तुलनामा सोही अवधिमा बैंकबाट गएको सेयर कर्जा २२.५८ प्रतिशतले बढेको छ ।
प्राइम कमर्सियल बैंकले ९ अर्ब ७९ करोड रुपैयाँ सेयर कर्जा प्रवाह गर्दा सिद्धार्थले ८ अर्ब ९३ करोड, लक्ष्मी सनराइज बैंकले ८ अर्ब ८४ करोड, राष्ट्रिय वाणिज्य बैंकले ८ अर्ब ९ करोड, कृषि विकासले ७ अर्ब ८७ करोड र नेपाल बैंकले ६ अर्ब ९३ करोड कर्जा प्रवाह गरेका छन् ।
यस्तै प्रभु बैंकले ६ अर्ब ६३ करोड, सिटिजन्सले ५ अर्ब ९० करोड, एनआईसी एशियाले ४ अर्ब ७२ करोड र एभरेष्ट बैंकले ४ अर्ब ३८ करोड रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् ।
सानिमा बैंकले ४ अर्ब २६ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गर्दा नेपाल इन्भेष्टमेण्ट मेगाले ३ अर्ब ९० करोड, हिमालयनले ३ अर्ब ३४ करोड, एनएमबीले ३ अर्ब ३२ करोड र नेपाल एसबीआई बैंकले ५९ करोड रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् ।
सात महिनासम्ममा सबैभन्दा कम सेयर कर्जा दिने बैंकमा नेपाल एसबीआई बैंक रहेको छ भने सिटिजन्स बैंकको ३.९५ प्रतिशत र नेपाल बैंकको कर्जा प्रवाह १०.२७ प्रतिशतले घटेको छ । कर्जा प्रवाहको वृद्धिदर २८६.३० प्रतिशतका साथ कृषि विकास बैंक अगाडि रहेको छ ।


















