वीरगन्ज– वीरगञ्ज भन्सार कार्यालयको चालु आर्थिक वर्ष २०८२/८३ को राजस्व संकलनमा वृद्धि भएको छ । फागुन मसान्तसम्म लक्ष्यको ८८.३२ प्रतिशत राजस्व संकलन गरेपछि वृद्धि भएको देखिएको हो ।
फागुन मसान्तसम्ममा १ खर्ब ५४ अर्ब ८४ करोड रुपैयाँ राजस्व संकलन भएको छ । यो अवधिमा भन्सार कार्यालयलाई १ अर्ब ७७ अर्ब ८८ करोडको लक्ष्य दिइएको थियो । कार्यालयले फागुनमा मात्रै १९ अर्ब ३४ करोड ४४ लाख राजस्व संकलन गरेको छ । उक्त महिनामा २१ अर्ब ४७ करोड २५ लाखको राजस्व संकलन गर्ने लक्ष्य राखिएको थियो । जसमध्ये १९ अर्ब ३३ करोड संकलन भएको हो ।
चालु वर्षको फागुन ३० गते एक दिन मात्रै १४ करोड ७५ लाख रुपैयाँ राजस्व असुली भएको थियो । कार्यालयको प्रतिदिन औसत लक्ष्य ७१.५६ करोड रुपैयाँ रहेको छ । फागुनमा अघिल्लो वर्षको तुलनामा १२ लाख ५४ हजार रुपैयाँ राजस्व संकलन भएको छ । माघमा १८ अर्ब ९२ करोड ३४ लाख रुपैयाँ अर्थात् लक्ष्यको ८८.८८ प्रतिशत राजस्व संकलन गरेको वीरगन्ज भन्सारले पुसमा २० अर्ब २० करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यो लक्ष्यको ९१.८४ प्रतिशत हो ।
गत आवको मंसिरमा १७ अर्ब ६४ करोड ४३ लाख रुपैयाँ राजस्व संकलन भएकोमा यस वर्षको सोही महिनामा २० अर्ब ७९ करोड ९० लाख रुपैयाँ संकलन भएको छ । जुन गत वर्षको तुलनामा १७.८८ प्रतिशतले बढी हो । तथ्यांकअनुसार चालु वर्षको साउनदेखि फागुनसम्मका अधिकांश महिनामा राजस्व संकलनको लक्ष्य र प्रगति दुवैमा सुधार आएको छ । मंसिरमा लक्ष्यको ९७.५१ प्रतिशत र भदौमा ९४.०४ प्रतिशत राजस्व असुली हुनुले भन्सार प्रशासनको सक्रियता र आयात निर्यातमा आएको सहजतालाई लिइएको छ ।
चालु वर्षको साउनमा राजस्व लक्ष्यको ८७.८७ प्रतिशत अर्थात् १८ अर्ब ६३ करोड ४१ लाख रुपैयाँ मात्रै संकलन गरेको भन्सार कार्यालय भदौमा लक्ष्यको नजिक पुगेको थियो । भदौमा कार्यालयले २० अर्ब ७२ करोड ६७ लाख अर्थात् ९४.०४ प्रतिशत राजस्व संकलन गरेर लक्ष्यको नजिक पुगेको थियो । असोजमा १९ अर्ब ८ करोड ७५ लाख अर्थात् ८४.५६ प्रतिशत राजस्व संकलन गरेकोमा कात्तिकमा ७३.३३ प्रतिशतमा झरेको थियो ।
कात्तिकमा कार्यालयले १७ अर्ब ३२ करोड ८१ लाख राजस्व संकलन गरेको थियो । मालवस्तु जाँचबुझ र प्रज्ञापनपत्रको चापलाई हेर्दा फागुनमा १९२ वटा प्रज्ञापनपत्र जारी भएका थिए । भन्सार जाँचबुझका क्रममा प्रयोग हुने लेन वितरण प्रणालीमा हरियो लेनतर्फ २१ प्रतिशत प्रज्ञापनपत्र रहेको छ भने रातो लेनतर्फ ६५ र पहेँलो लेनतर्फ ७ हजार ४४८ को अनुपातमा प्रज्ञापनपत्रको प्रक्रिया अगाडि बढेको भन्सार कार्यालयको तथ्यांकले देखाएको छ ।
कार्यालयको साउनदेखि फागुन मसान्तसम्मको तथ्यांक हेर्दा गत वर्षको तुलनामा यस वर्ष राजस्व संकलनको दर बढेको वीरगन्ज भन्सारका प्रमुख प्रशासक कृष्णप्रसाद मैनालीले बताए । चालु वर्षको मंसिर, पुस र फागुनमा राजस्व लक्ष्यअनुसार संकलन हुनु सन्तोषजनक देखिएको प्रमुख भन्सार प्रशासक मैनालीले बताए । वीरगन्ज भन्सारको राजस्व संकलनमा इन्धन र सवारीसाधनकै बढी योगदान रहेको छ । नियमित रूपमा इन्धन आयात भइरहेको र फागुनको निर्वाचनमा उपभोग्य वस्तुहरूको पनि खपत बढेको हुँदा भन्सार राजस्व संकलनमा पनि सुधार भएको मैनालीको भनाइ छ ।
वीरगञ्ज भन्सार र सुख्खा बन्दरगाह (ड्राइपोर्ट) समेतको एकीकृत तथ्यांकले समग्र राजस्व परिचालनमा उत्साह थपेको छ । खुला सीमा र भन्सार महसुलमा देखिएको असमानताबीच कार्यालयले अनलाइन ‘भन्सार मूल्यांकन डाटावेस प्रणाली’ लागु गरेपछि भन्सार राजस्वमा वृद्ध भएको हो । तथ्यांकअनुसार गत आवको सोही अवधिको तुलनामा यस वर्ष राजस्व असुलीमा सकारात्मक वृद्धि देखिएको छ ।

















