काठमाडौं– अर्थतन्त्रको सुस्तता लम्बिँदै जाँदा त्यसले विकास बैंकहरूको वित्तीय स्वास्थ्यमा असर परेको छ । यी बैंकहरूको निष्क्रिय कर्जा घट्नुको साटो बढ्दै गइरहेको छ । पाँच खर्ब ३६ अर्ब रुपैयाँको हाराहारीमा कर्जा प्रवाह हुँदा झण्डै ३१ अर्ब रुपैयाँ कर्जा निष्क्रिय देखिनुले पनि विकास बैंकहरू निष्क्रिय कर्जा व्यवस्थापनमा कमजोर देखिएका हुन् ।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा विकास बैंकहरूले कुल पाँच खर्ब ३६ अर्ब ९५ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । प्रवाह भएको उक्त कर्जामध्ये ५.७५ प्रतिशत अर्थात् ३० अर्ब ८७ करोड ४८ लाख ५५ हजार रुपैयाँबराबरको कर्जा निष्क्रिय कर्जा छ ।
विकास बैंकहरूमा रहेको यो निष्क्रिय कर्जा गत आवको सोही अवधिको तुलनामा ४ अर्ब ४१ करोड ४२ लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा विकास बैंकहरूले कुल पाँच खर्ब १७ अर्ब ७४ करोड २० लाख रुपैैयाँ कर्जा प्रवाह गर्दा ५.११ प्रतिशत अर्थात् २६ अर्ब ४५ करोड ६६ लाख रुपैयाँबराबरको कर्जा निष्क्रिय थियो ।
अपरिष्कृत वित्तीय विवरणअनुसार चालुु आवको पुस मसान्तसम्ममा कामना सेवा, मितेरी, सांग्रिला र लुम्बिनी विकास बैंकमा क्रमश: ४.१०, ०.४४, ६.८७ र ७.७८ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यी बैंकहरूमा यस्तो कर्जाको अनुपात क्रमश: ४.३५, १.७४, ४.९९ र ४.६८ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
सिन्धु, मुक्तिनाथ र ग्रीन डेभलपमेन्ट बैंकमा पनि पछिल्लो अवधिमा क्रमश: ६.३९, ३.७५ र ४.२० प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यी बैंकहरूमा क्रमश: ९.०६, ३.९८ र ४.८८ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
गरिमा, महालक्ष्मी र कर्पोरेट डेभलपेन्ट बैंकमा पनि चालु आवको पछिल्लो अवधिमा क्रमश: ४.७८, ६.१० र ९.७९ प्रतिशत कर्जा निष्क्रिय छ । गत आवको सोही अवधिमा यी बैंकहरूमा क्रमश: ४.७२, ४.९३ र ७.५३ प्रतिशत कर्जा निष्क्रिय थियो । शाइन रेसुंगा, ज्योति, सप्तकोशी र सालपा विकास बैंकमा पनि पछिल्लो अवधिमा क्रमश: ४.७५, ७.८२, ८.२९ र ४.९२ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।
गत आवको सोही अवधिमा यी बैंकहरूमा क्रमश: ४.४०, ४.९८, ११.४२ र ५.७१ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो । नारायणी डेभलपमेन्ट बैंकमा भने पछिल्लो अवधिमा विकास बैंकहरूमध्येमा सबैभन्दा बढी अर्थात् ५७.४८ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा पनि यस बैंकमा ४३.६९ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
अर्थतन्त्रको सुस्तता, आन्दोलनलगायतको असर वाणिज्य मात्र नभई विकास बैंकहरूलाई पनि परेको छ । लामो समयदेखि आर्थिक गतिविधि सुस्त बन्दा बैंकहरूले प्रवाह गरेको कर्जा असुलीमा सुस्तता छाएको छ । यसले गर्दा उनीहरूको निष्क्रिय कर्जा उच्च भएको छ ।
केही वर्षयता आर्थिक सुस्तताका कारण समस्या भोगिरहेका बैंकहरूको वित्तीय अवस्था भदौ २३ र २४ को जेनजी आन्दोलन र त्यसपछिको हिंसाका कारण थप नकारात्मक बनेको बैंकरहरू बताउँछन् । पुरानो कर्जा असुलीमा सुधार हुन नसकेका कारण निष्क्रिय कर्जा अनुपात बढिरहेको हो ।
असुलीमा गएका बैंकरहरू प्राय: खाली हात फर्कनुपरेको दुखेसो गर्न थालेका छन् । राष्ट्र बैंकको व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाहरूले १ वर्षभन्दा बढी अवधिले भाखा नाघेको कर्जालाई निष्क्रियमा वर्गीकरण गर्नुपर्ने व्यवस्था गरेको छ । त्यसकारण एक वर्षभन्दा बढी समयसम्म ऋण नतिर्नेको संख्या बढ्दै गएको तथ्यांकले देखाएको छ ।


















