काठमाडौं– पछिल्लो समय लघुवित्त संस्थाहरूमा निष्क्रिय कर्जाको ग्राफ डरलाग्दो गरी बढ्दो क्रममा देखिएको छ । केन्द्रीय बैंकले दिएका सहुलियत वा सहजता, घट्दो ब्याजदर लगायतका कारण ऋण असुली बढ्नुपर्नेमा त्यस्तो नभएको लघुवित्तकर्मीहरू बताउँछन् ।
लघुवित्त संस्थाहरूमा झण्डै २६ प्रतिशतसम्म कर्जा निष्क्रिय देखिएको छ । सञ्चालनमा रहेका लघुवित्त संस्थामध्ये हालसम्म २९ वटा संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेकोमा झण्डै तीनदेखि २६ प्रतिशतसम्म कर्जा निष्क्रिय देखिएको हो ।
लघुवित्त संस्थाहरूमा रहेको यही निष्क्रिय कर्जाले पनि पछिल्लो समय यस क्षेत्रमा वित्तीय जोखिम बढ्दै गएको देखिन्छ । वित्तीय विवरणअनुसार चालु आवको दोस्रो त्रैमासिकमा सबैभन्दा बढी निष्क्रिय कर्जा नेरुडे मिर्मिरेमा देखिएको छ भने सबैभन्दा कम छिमेक लघुवित्त वित्तीय संस्थाको छ ।
केही समय अघिदेखि व्यवसायी दुर्गा प्रसाईं लगायतको समूहले ऋण मिनाहाको हल्ला फिजाउँदा त्यसको असर लघुवित्तको कर्जा असुलीमा देखिएको लघुवित्तकर्मीहरू बताउँछन् । कर्जा असुलीमा नै अवरोध सिर्जना हुने, डरत्रास मात्र नभई भौतिक आक्रमणमा पर्ने तथा कतिपयमा ऋण मिनाहा हुन्छ तिर्नु पर्दैन भन्ने गलत भाष्य सिर्जना गराइँदा त्यसको प्रभाव कर्जा असुलीमा देखिएको हो । यसले लघुवित्तको कर्जा असुलीमा मात्र समस्या देखिएको छैन, लघुवित्त वित्तीय संस्थाहरूको वित्तीय स्वास्थ्यमा समेत असर परेको जानकारहरु बताउँछन् ।
‘सरकारले ऋण मिनाहाको कि स्पष्ट नीति लिनुपर्यो, होइन भने त्यस्तो गलत हल्ला फिँजाउनेलाई कारबाही गर्नुपर्यो,’ एक लघुवित्तकर्मीले कारोबारसँग भने ।
ग्रामीण विकास लघुवित्तका सिनियर डेपुटी सिईओ किशोर महतोले अहिले अर्थतन्त्रको सुस्तता र ऋणीहरूको ऋण तिर्ने क्षमता कमजोर हुँदा पनि कर्जा असुलीमा समस्या भएको बताए । साथमा ऋण तिर्नु नपर्ने वा मिनाहा हुने गलत हल्लाका कारण पनि ऋणीले ऋण तिर्ने मनसाय नबनाएको महतो बताउँछन् । ‘एकातिर ऋण तिर्न सकेका छैनन्, अर्कोतिर ऋण मिनाहाको हल्ला फिँजाइएको छ,’ महतोले कारोबारसँग भने, ‘यसले कर्जा असुलीमा समस्या भइरहेको छ भने निष्क्रिय कर्जा पनि बढिरहेको छ ।’
लघुवित्त बैंकर्स संघका पूर्वअध्यक्ष वसन्त लम्साल ऋण मिनाहाको हल्लाका कारण नागरिकमा भ्रम सिर्जना भएको र असुलीमा बाधा भइरहेको बताउँछन् । ‘ऋण मिनाहा अहिलेको अवस्थामा सम्भव छैन । यो गरिनु पनि हुँदैन । सरकारले स्पष्ट भन्नुपर्ने थियो– अहिले ऋण मिनाहाको कुनै सम्भावना छैन । तर, सरकारले स्पष्ट नपार्दा स्वार्थ समूहले खेल्ने मौका पाइरहेका छन्,’ लम्सालले कारोबारसँग भने ।
यसबाहेक राष्ट्र बैंकले दिएको कर्जा पुनर्संरचना सुविधाको समय सकिएपछि पनि निष्क्रिय कर्जा बढेको लघुवित्तकर्मीहरू बताउँछन् । लम्सालले भने, ‘पुनर्संरचनाको सुविधा दिएसँगै निष्क्रिय कर्जा कम भएको जस्तो देखिएको थियो । तर त्यसको समय सकियो । त्यतिखेरसम्म पनि कर्जा नतिरेपछि निष्क्रियमै गणना हुने भएकाले अहिले बढेको हो ।’
चालु आवको दोस्रो त्रैमासिकमा नेरुडेमा २५.७५ प्रतिशत कर्जा निष्क्रिय देखिँदा छिमेक लघुवित्तमा २.४५ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यी संस्थाहरूमा यस्तो कर्जाको अनुपात क्रमशः ८.४७ र २.७२ प्रतिशत थियो ।
नेष्डो समृद्ध लघुवित्तको निष्क्रिय कर्जा २१.६० प्रतिशत पुग्दा मेरो माइक्रोफाइनान्सको १९.५४ र सीवाईसी नेपालको १८.४८ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा यी संस्थाहरूमा क्रमशः २०.९५, ७.७८ र ४.३५ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो । युनिक नेपाल, इन्फिनिटी र एनआईसी एसिया लघुवित्तमा पनि चालु आवको दोस्रो त्रैमासमा क्रमश १८.३८, १७.८५ र १७.३८ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यी संस्थाहरूमा क्रमशः १९.२५, ९.८५ र १३.३७ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो । विजय लघुवित्तको निष्क्रिय कर्जा गत आवको पुससम्ममा ८.३५ प्रतिशत रहेकोमा चालु आवको सोही अवधिमा १९.३७ प्रतिशत पुगेको छ ।
समता घरेलु, स्वावलम्बन र कालिका लघुवित्त वित्तीय संस्थामा पनि चालु आवको दोस्रो त्रैमासमा क्रमशः १३.३२, ११.७७ र ११.४२ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यी संस्थाहरूमा क्रमशः ७.८३, ८.२८ र ४.६७ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
गत आवको पुससम्ममा आशा लघुवित्तको ४.९२ प्रतिशत निष्क्रिय कर्जा रहेकोमा चालु आवको सोही अवधिमा १०.१५ प्रतिशत पुगेको छ । यस्तै, उन्नति लघुवित्तको गत आवको पुसमा ४.८३ प्रतिशत रहेकोमा २०८२ पुसमा ९.८६ प्रतिशत पुगेको छ । ग्लोबल आइएमई लघुवित्तमा ४.५७ प्रतिशत निष्क्रिय कर्जा रहेकोमा चालु आवको पुससम्ममा ८.९६ प्रतिशत कर्जा निष्क्रिय बनेको छ ।
हिमालयन, डिप्रोक्स र मिथिला लघुवित्तमा पनि चालु आवको पुससम्ममा क्रमशः ८.५८, ८.४३ र ८.३९ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यी संस्थाहरूमा क्रमशः ५.६२, ६.०९ र ४.८५ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
स्वरोजगार, जीवन विकास, मानुषी र आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थामा पनि पछिल्लो अवधिमा क्रमशः ७.५५, ५.९८, ५.९७ र ५.२० प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यी संस्थाहरूमा क्रमशः ५.०४, ४.५६, ५.४८ र २.९१ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका मध्ये ९ वटा संस्थाहरूमा भने निष्क्रिय कर्जाको अनुपात ५ प्रतिशतभन्दा कम छ । स्वाभिमान, एनएमबी र फष्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाहरूमा चालु आवको दोस्रो त्रैमासमा क्रमशः ४.९५, ४.८३ र ४.५२ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यी संस्थाहरूमा क्रमशः ३.४२, ५.९६ र ४.४४ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
यी बाहेकका केही कम्पनीहरूको वित्तीय विवरणमा पनि निष्क्रिय कर्जा बढेको देखाइएको छ भने विवरण प्रकाशित हुन बाँकी कम्पनीको पनि बढेरै आउने देखिएको लघुवित्तकर्मीहरू बताउँछन् ।


















