• Home
  • Financial News
  • बैंकहरूले ल्याउन थाले ‘गोल्ड लोन’ स्किम
Image

बैंकहरूले ल्याउन थाले ‘गोल्ड लोन’ स्किम


काठमाडौं– चालु आर्थिक वर्षको साउनदेखि पुससम्म सुन धितो लिएर बैंकहरूले विस्तार गरेको ऋण १९.१ प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार चालु आवको असारमा सुन धितोमा ८४ अर्ब ८० करोड रुपैयाँ कर्जा विस्तार भएकोमा पुससम्ममा बढेर १ खर्ब ९९ करोड पुगेको छ ।

पछिल्लो समय सुनको मूल्य अत्यधिक बढ्दै गर्दा सुन धितोमा कर्जा लिने पनि बढेका हुन् । गत आवको ६ महिनाको अवधिमा यस्तो कर्जा विस्तार १४.२ प्रतिशतले बढेको थियो । गत २०८१ असारमा सुन धितोमा ६० अर्ब ७८ करोड रुपैयाँ कर्जा विस्तार भएकोमा २०८१ पुससम्ममा ६९ अर्ब ४२ करोड रुपैयाँ पुगेको थियो ।

गत आवको तुलनामा चालु आवको पुससम्ममा सुनको मूल्य १ लाख २२ हजार २ सय रुपैयाँले बढेको छ । २०८१ पुस २९ मा नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ५५ हजार ८ सय रुपैयाँ थियो । २०८२ पुस अन्तिममा भने २ लाख ७८ हजार रुपैयाँ पुगेको थियो । छोटो अवधिमै सुनको मूल्यमा तीव्र वृद्धि भएसँगै धितो राखेर कर्जा लिनेको संख्या पनि बढ्दै गएको हो ।

राष्ट्र बैंकका सहप्रवक्ता सुमन न्यौपाने सुनको मूल्य बढ्दै जाँदा नागरिकमा सुन धितोमा कर्जा लिनेबारे साक्षरता वा चासो पनि बढेको बताउँछन् । त्यसरी चासो बढ्दै जाँदा आफूसँग भएको सुन धितोमा राखेर कर्जा लिने क्रम बढेको उनको भनाइ छ । ‘आफूसँग भएको सम्पत्तिको मूल्य वा महत्व बढ्दा नागरिकले यसबारे स्वाभाविक रूपमा चासो दिन्छन् । सुनको मूल्य बढेसँगै यसलाई धितोमा राखेर कर्जा प्रयोग गर्न नागरिकले ध्यान दिएको देखिन्छ,’ कारोबारसँग न्यौपानेले भने ।

यसअघि २०७९ पुसमा सुनचाँदी धितोमा ५४ अर्ब ९५ करोड रुपैयाँ कर्जा विस्तार भएको थियो, जुन २०७९ असारमा प्रवाह भएको सुनचाँदी धितो कर्जाको तुलनामा ३.२ प्रतिशत मात्रै बढी थियो । २०७९ असारमा सुनचाँदी धितो कर्जा ५३ अर्ब २७ करोड रुपैयाँ विस्तार भएको थियो ।

त्यस्तै, २०८० असारमा ७० अर्ब ७६ करोड रुपैयाँ सुनचाँदी धितो कर्जा विस्तार भएकोमा सोही वर्षको पुससम्ममा २१.४ प्रतिशतले घटेर ५५ अर्ब ६३ करोड रुपैयाँमा सीमित भएको थियो ।

केही दिन अघिमात्रै एनआईसी एशिया बैंकले ‘गोल्ड लोन’ योजना सार्वजनिक गरेको छ । सुन तथा सुनका गहना धितोमा राखेर प्रवाह गरिने यो कर्जा योजनामा बैंकले न्यूनतम १ देखि अधिकतम ३ प्रतिशतसम्मको प्रिमियम दरमा कर्जा दिनेछ । यो योजनामा ग्राहकले ५० लाख रुपैयाँसम्मको कर्जा सीमा पाउने बैंकले जनाएको छ । बैंकले धितो राखिने सुनको बजार मूल्यको ७० देखि ८० प्रतिशतसम्म कर्जा प्रवाह गर्ने भएकाले ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न यसले सहयोग गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजित शाक्य बताउँछन् ।

हालसम्म नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकले धेरै मात्रामा सुनचाँदी धितो कर्जा प्रवाह गरिरहे पनि अन्य बैंकले पनि थोरै–थोरै कर्जा दिने गरेको शाक्यले बताए । अहिले बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) पर्याप्त रहेको अवस्थामा एनआईसीले ग्राहकलाई सहज हुने गरी यस्तो योजना ल्याएको उनको भनाइ छ । ‘सुनचाँदी धितो कर्जामा क्यापिटल चार्ज नलाग्ने भएका कारण पनि कर्जा विस्तार गर्न सजिलो छ,’ उनले भने, ‘क्यापिटल टाइट भएको बैंकलाई पनि यो कर्जा विस्तार गर्न सहज हुन्छ ।’

ग्राहकले आफूसँग भएको सुन तथा सुनका गरगहना धितोमा राखेर सहजै सस्तो ब्याजदरमै ऋण लिएर आफ्नो आवश्यकता पूरा गर्न सक्ने शाक्य बताउँछन् । बैंक तथा वित्तीय संस्थाले सुनचाँदी धितोमा ५० लाख रुपैयाँसम्म मात्रै कर्जा प्रवाह गर्न पाउने व्यवस्था छ । सोही कारण बैंकमार्फत ग्राहकले सुनचाँदी धितोमा सो बराबरको रकमसम्म मात्रै कर्जा लिन सक्नेछन् । रकम अत्यावश्यक भएको अवस्थामा आफूसँग भएको सुन धितोमा राखेर ग्राहकले गर्जो टार्न सक्ने हुँदा त्यसले सहजता ल्याउने सीईओ शाक्य बताउँछन् ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दै जाँदा नेपाली बजारमा पनि बढिरहेको छ । यस साता भने सुनको मूल्यमा उतारचढाव आएको छ । तैपनि विगतको तुलनामा सुनको मूल्यमा बढोत्तरी हुँदै जाँदा बैंकहरूले सुन किन्नका लागि कर्जा दिँदै आएका छन् ।





Source link

Releated Posts

ब्याजदर घट्दा कर्जा प्रवाहमा देखिएन अपेक्षित सुधार

काठमाडौं– चालु आर्थिक वर्षको फागुनसम्म बैंकको ब्याजदर घट्दै जाँदा कर्जाको वृद्धिदर निराशाजनक देखिएको छ । राष्ट्र बैंकले बिहीबार…

ByByNews on SantoshHub Apr 3, 2026

पाँच अंकले बढेको सेयर बजारमा कारोबार घट्यो

काठमाडौं- यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ । बिहीबार…

ByByNews on SantoshHub Apr 2, 2026

रेमिट्यान्स कम्पनीको न्यूनतम चुक्ता पुँजी १० करोड पुर्‍याउने समयसीमा दुई वर्ष थप

काठमाडौं- नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीहरूको न्यूनतम चुक्ता पुँजी पुर्‍याउने समयसीमा दुई वर्ष थप गरेको छ । ‘विप्रेषण…

ByByNews on SantoshHub Apr 2, 2026

नेप्से परिसूचक ७४ अंकले घट्याे, १२ अर्ब १० करोडको कारोबार

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७४.७३ अंकले घटेर दुई हजार ७७६.३६ को बिन्दुमा कायम भएको छ ।…

ByByNews on SantoshHub Apr 1, 2026

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to Top