काठमाडौं- यो साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४.२१ अंकले बढेर दुई हजार ९५०.१६ विन्दुमा कायम भएको छ ।
बिहीबार ३४३ कम्पनीको तीन करोड चार लाख ३८ हजार ३१५ कित्ता सेयर एक लाख ४२ हजार ७३४ पटक खरिदबिक्री हुँदा १३ अर्ब १६ करोड २२ लाख ९९ हजार १७.४८ बराबरको कारोबार भएको छ । बिहीबारको कारोबारमा विकास बैंक शून्य दशमलव शून्य पाँच, जीवन बिमा शून्य दशमलव शून्य चार र व्यापार समूह दुई दशमलव ८४ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।
बैंकिङ शून्य दशमलव ३७, वित्त शून्य दशमलव १७, होटल तथा पर्यटन एक दशमलव ५६, जलविद्युत् एक दशमलव ५६, लगानी शून्य दशमलव ५१, उत्पादन तथा प्रशोधन एक दशमलव ५०, लघुवित्त शून्य दशमलव २०, निर्जीवन बिमा शून्य दशमलव ४३ र अन्य समूह शून्य दशमलव ६५ प्रतिशतले बढेका छन् ।
बिहीबार रिलायन्स स्पिनिङ मिल्स लिमिटेड, सुपर खुदी हाइड्रोपावर लिमिटेड र होटल फरेन्ट इन लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको सेयर मूल्य सात दशमलव ४८ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा बिहीबार सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ९४ करोड २९ लाख ८० हजार ४६ बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर संख्याका आधारमा सबैभन्दा बढी नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको १४ लाख ८३ हजार ३३१ कित्ता सेयर किनबेच भएको छ ।

















