काठमाडौं– फागुन २१ को चुनावले स्थिर सरकार दिने परिणाम निकालेपछि निर्वाचनपछि पहिलो पटक खुलेको सेयर बजारमा तीन पटक सर्किट ब्रेक लागेको छ । सोमबार सेयर बजार खुलेलगत्तै परिसूचक ४ प्रतिशतले बढ्दा २० मिनेटका लागि कारोबार रोकियो । बजार दोस्रो पटक खुलेपछि थप १ प्रतिशतले परिसूचक बढ्दा अर्को सर्किट लागेको थियो ।
योसँगै बजार ४० मिनेट बन्द भयो । त्यसपछि खुलेको बजार एक मिनेटभन्दा कम समयमा अर्को १ प्रतिशत बढेपछि तेस्रो सर्किट लाग्यो र दिनभरका लागि कारोबार बन्द भयो । सोमबार नेप्से परिसूचक १६२.९३ अंकले बढेर २८७५.४३ बिन्दुमा पुगेको छ । बजारमा २५३ कम्पनीको मूल्य बढ्दा रिलायन्स स्पिनिङ मिल्सको मूल्य मात्रै घटेको छ ।
प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई तिहाई नजिकको मत पाएपछि राजनीतिक अस्थिरता हटेर स्थिर सरकार बन्ने बाटो खुलेको छ । सरकार स्थिर बन्दा नीतिनियम स्थिर हुने विश्वासका साथ लगानीकर्ता उत्साहित हुँदा सेयर बजार केही मिनेटमै ६ प्रतिशत बढेर बन्द भएको हो । सोमबार कारोबारको केही मिनेटमै ५५ करोड ५९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो ।
पछिल्लो समय सेयर बजार लगातार राजनीतिक अस्थिरताको प्रभावमा परेको थियो । छिटो सरकार परिवर्तनको शृंखला, नीतिगत अनिश्चितता तथा आर्थिक निर्णयमा देखिएको ढिलासुस्तीले लगानीकर्तामा अन्योल बढाएको थियो । यस्तोमा रास्वपाले बहुमत हासिल गरेसँगै मुलुकमा राजनीतिक स्थिरता कायम हुने र त्यसले नीतिगत निरन्तरता सुनिश्चित गर्दै अर्थतन्त्र सुधारतर्फ अघि बढ्ने अपेक्षाले लगानीकर्तामा उत्साह छाएको हो ।
बजारका आधारभूत सूचक अनुकूल हुँदाहुँदै पनि राजनीतिक वातावरण अनुकूल नहुँदा पुँजी बजारले अपेक्षित गति लिन सकेको थिएन । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनपछि निजी क्षेत्र प्रभावित भएको थियो । लगानीकर्ताको मनोबल खस्किँदा त्यसको असर सेयर बजारसम्म पनि परेको थियो । निर्वाचनले स्थिर सरकार बनाउनका लागि रास्वपालाई जनादेश दिएकाले लगानीकर्ता उत्साहित बनेको जानकारहरू बताउँछन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रवक्ता मुराहरी पराजुलीले निर्वाचनको नतिजाले लगानीकर्तालाई उत्साहित बनाएको हुन सक्ने बताए । उनले भने, ‘हालै सम्पन्न भएको निर्वाचनको नतिजाले लगानीकर्तालाई उत्साहित बनाएको हुन सक्छ । त्यसैले बजार बढेको हो ।’ विगतमा पनि निर्वाचन सम्पन्न भएलगत्तै सेयर बजार बढ्ने गरेको जानकारहरू सम्झन्छन् । निर्वाचनपछि स्थिर सरकार तथा राम्रो र स्थिर नीतिको अपेक्षा हुने कारण पनि लगानीकर्ता उत्साहित हुने गरेका हुन् ।
यसअघि २०६३ चैत अन्तिममा पहिलो संविधान सभा चुनाव हुँदाताका बजार बढ्दै गएर २०६५ भदौमा नेप्से परिसूचक ११७५.३८ विन्दुमा पुगेको थियो । २०६०–६१ मा २२२.०४ विन्दुमा रहेको नेप्से परिसूचक माओवादी नेतृत्वमा सरकार आउने समयमा बढेर सो विन्दुमा पुगेको थियो । नेप्से परिसूचक २०६९ असारमा घटेर २९२ विन्दुमा झरेको थियो । अर्थात् २०६४–६५ को उत्साह टिक्न सकेन । नयाँ संविधान जारी भएपछि २०७३ साउनमा नेप्से परिसूचक १८२१.४५ विन्दुमा पुगेको थियो । त्यसपछि घटबढ हुँदै आएको सेयर बजारले कोरोनाको समयमा फेरि उचाइ लिएको थियो ।
२०७७–७८ मा २८२३.४१ विन्दुमा पुगेको नेप्से परिसूचक फेरि घटेर २०८० वैशाखमा २१८१.३१ विन्दुमा झर्यो । निर्वाचनपछि स्थिर सरकार आउने र लगानीको वातावरण बन्ने अपेक्षाकै कारण बजार बढ्ने गरेको देखिन्छ । लगानीकर्ताले निर्वाचनलाई सकारात्मक रुपमा लिने गरेको विगत भएको र अहिले पनि त्यसकै निरन्तरता भएको जानकारहरू बताउँछन् ।
नेपालको सेयर बजारले पछिल्लो समय लगानीका लागि आधारभूत सूचकहरू भन्दा पनि राजनीतिलाई बढी हेर्न थालेको सेयर बजारका जानकार डा. गोपाल भट्ट बताउँछन् । उनले भने, ‘नेपालको सेयर बजारले पछिल्लो समयमा राजनीतिक एजेण्डालाई बढी पत्याइरहेको देखिन्छ । राजनीतिक स्थिरता नै लगानीकर्ताले चाहने गरेका छन् ।’ विगतमा अर्थमन्त्री कस्तो आउँछन्, कस्तो नीति ल्याउँछन् भन्ने कुरा लगानीकर्ताले हेर्ने गरेका थिए । अर्थमन्त्रीमा विष्णु पौडेल आउने चर्चाले सेयर बजारले उचाइ छुने अवस्था थियो ।
युवराज खतिवडा अर्थमन्त्री बन्ने कुरा हुँदा बजार घटेको थियो । अर्थात् लगानीकर्ताले नेताको विचार वा बजारप्रति उसको धारणामा ध्यान दिने गरेका थिए । अहिले भने सबैको चाहना व्यक्ति भन्दा पनि पार्टीको नीति कस्तो भन्ने देखिएको राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक समेत रहेका भट्ट बताउँछन् । ‘अहिले लगानीकर्ताहरू पुँजीबजार मैत्री सरकार बन्नेमा ढुक्क देखिन्छन्,’ उनी भन्छन् ।
राजनीतिक र नीतिगत स्थिरता हुने, सुशासन कायम हुने लगायत विश्वास लगानीकर्तामा रहेकाले बजार बढ्न त्यसले बल दिएको उनको भनाइ छ । ‘सरकारले भाषण गर्ने भन्दा पनि काम गर्ने भन्ने कुरा अहिलेदेखि नै सुन्न थालिएका कारण पनि लगानीकर्ताले त्यही किसिमको अपेक्षा गरेको देखिन्छ,’ उनले भने । अब नयाँ सरकार बनिसकेपछि उनीहरूको काम र नीतिमा सेयर बजार थप अगाडि जान सक्ने उनी बताउँछन् ।
इन्भेष्टर्स फोरम नेपालका अध्यक्ष तुलसीराम ढकालले स्थिर सरकारको लागि बाटो खुलेको र यसलाई लगानीकर्ताले रुचाएको बताए । निर्वाचनपछि रास्वपाको एकल सरकार बन्ने, प्रधानमन्त्रीको रुपमा बालेन शाह र अर्थमन्त्रीमा अर्थतन्त्रका जानकार स्वर्णीम वाग्ले आउने चर्चाका कारण पनि लगानीकर्ता बढी उत्साहित भएको उनको भनाइ छ ।
अहिले बजार सहज अवस्थामा रहेकाले स्थिर सरकारको मात्रै आवश्यकता भएको उनी बताउँछन् । ‘स्थिर सरकार पाएपछि सेयर बजारले झनै गति लिन्छ । विगतमा लगानीकर्ता पर्ख र हेरको अवस्थामा थिए, तर अब बजार थप अगाडि बढ्छ,’ उनले भने । बैंकिङ प्रणालीमा १२ खर्ब बढी लगानीयोग्य रकम भएको, ब्याजदर तल्लो स्तरमा रहेको र राजनीतिक स्थिरताको ढोका खुलेका कारण पनि बजार अब अगाडि बढ्ने उनको मत छ ।


















