काठमाडौं– चालु आर्थिक वर्षको पुससम्ममा बैंकिङ प्रणालीमा ४ खर्ब १७ अर्ब ४८ करोड रुपैयाँ निक्षेप थपिँदा कर्जा भने १ खर्ब ९७ अर्ब ४७ करोड रुपैयाँमात्र थपिएको छ ।
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ५.७ प्रतिशतले बढेर ७६ खर्ब ८१ अर्ब ३५ करोड रुपैयाँ पुग्दा निजी क्षेत्रमा प्रवाहित कर्जा ३.६ प्रतिशतले बढेर ५६ खर्ब ९५ अर्ब १७ करोड रुपैयाँ पुगेको छ ।
गत आवको सोही अवधिमा निक्षेप २ खर्ब ३९ अर्ब ६ करोड रुपैयाँ (३.७ प्रतिशत) ले बढ्दा कर्जा प्रवाह २ खर्ब ६५ अर्ब ५६ करोड रुपैयाँ (५.२ प्रतिशत) ले बढेको थियो । चालु आवमा कर्जा बढ्ने अपेक्षा गरिए पनि राजनीतिक अनिश्चितताका कारण कर्जाको माग हुन नसकेको निजी क्षेत्रको भनाइ छ ।
निजी क्षेत्रका प्रतिनिधिहरू निर्वाचन स्वच्छ र शान्त तवरले भएर नयाँ तथा बलियो स्थिर सरकार आएको अवस्थामा मात्रै मनोबल बढ्ने र अर्थतन्त्रले लय पकड्ने बताउँछन् । सरकारले भयरहित वातावरण बनाउन सक्नुपर्नेमा उनीहरूको जोड छ ।
केही वर्षदेखि सुस्त रहेको अर्थतन्त्रले लय नसमात्दै पुनः थलिनुपर्दा त्यसले सबै क्षेत्रलाई असर पारेको निजी क्षेत्रको मत छ । यता बैंकरहरू पनि कर्जा विस्तारका लागि निजी क्षेत्रको मनोबल बढाउन सरकारले तदारुकता देखाउनुपर्नेमा जोड दिन्छन् । केन्द्रीय बैंकले नीतिहरू लचिलो पारे पनि निजी क्षेत्रको मनोबल बढ्न नसक्दा कर्जा प्रवाह बढ्न नसकेको उनीहरूको भनाइ छ ।
वार्षिक विन्दुगत आधारमा २०८२ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १४.८ प्रतिशतले बढेको छ भने निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ६.७ प्रतिशतले बढेको केन्द्रीय बैंकको तथ्यांक छ ।
२०८२ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.३ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा यस्तो अंश क्रमशः ६४.२ प्रतिशत र ३५.८ प्रतिशत थियो ।
चालु आवको साउनदेखि पुससम्मको अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको ३.७ प्रतिशत, विकास बैंकहरूको २.९ प्रतिशत र वित्त कम्पनीहरूको कर्जा प्रवाह १.२ प्रतिशतले बढेको छ ।
चालु आर्थिक वर्ष २०८२–८३ को ६ महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये उपभोग्य क्षेत्रतर्फको कर्जा ९.१ प्रतिशतले बढेको छ । यस्तै, निर्माण क्षेत्रतर्फको कर्जा ७.२ प्रतिशत बढ्दा यातायात, सञ्चार तथा सार्वजनिक सेवातर्फको ६.२ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको ४.४ प्रतिशत, वित्त, बीमा तथा अचल सम्पत्ति क्षेत्रतर्फको १.१ प्रतिशत र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ०.९ प्रतिशतले बढेको छ ।
यस अवधिमा कृषि क्षेत्रतर्फको कर्जा भने १.१ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ । साउनदेखि पुससम्मको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये मार्जिन प्रकृतिको कर्जा ८.३ प्रतिशत, ट्रष्ट रिसिट (आयात) कर्जा ७.८ प्रतिशत, हायर पर्चेज कर्जा ७.३ प्रतिशत, क्यास क्रेडिट कर्जा ३.० प्रतिशत, माग तथा अन्य चालु पुँजी कर्जा २.९ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) २.५ प्रतिशत र आवधिक कर्जा २.४ प्रतिशतले बढेको छ । अधिविकर्ष कर्जा ३.३ प्रतिशतले घटेको छ ।
पछिल्लो समय ब्याजदर निरन्तर घट्दै गइरहेको छ । केन्द्रीय बैंकको तथ्यांक अनुसार, २०८२ पुसमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.५६ प्रतिशत, विकास बैंकहरूको ४.०६ प्रतिशत र वित्त कम्पनीहरूको ५.१७ प्रतिशत रहेको छ । २०८१ पुसमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ४.७५ प्रतिशत, विकास बैंकहरूको ५.५६ प्रतिशत र वित्त कम्पनीहरूको ६.६६ प्रतिशत थियो । त्यसैगरी, २०८२ पुसमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ७.१२ प्रतिशत, विकास बैंकहरूको ८.३४ प्रतिशत र वित्त कम्पनीहरूको ९.७३ प्रतिशत रहेको छ । २०८१ पुसमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ८.६९ प्रतिशत, विकास बैंकहरूको १०.१० प्रतिशत र वित्त कम्पनीहरूको ११.१० प्रतिशत थियो ।
२०८२ पुसमा वाणिज्य बैंकहरूको औसत आधार दर ५.२९ प्रतिशत, विकास बैंकहरूको ७.६० प्रतिशत र वित्त कम्पनीहरूको ७.९८ प्रतिशत रहेको छ । २०८१ पुसमा वाणिज्य बैंकहरूको औसत आधार दर ६.६५ प्रतिशत, विकास बैंकहरूको ८.६१ प्रतिशत र वित्त कम्पनीहरूको ९.५० प्रतिशत थियो ।


















