काठमाडौं– नेपाल स्टक एक्सचेन्जले दोस्रो बजारमा ब्रोकरमार्फत ऋण लिएर सेयर किन्न बाटो खुला गरेको छ । ‘मार्जिन कारोबार सुविधासम्बन्धी कार्यप्रक्रिया, २०८२’ पारित गर्दै दोस्रो बजारमा ब्रोकरमार्फत् ऋण लिएर सेयर किन्न बाटो नेप्सेले खुला गरेको हो ।
नेप्सेले धितोपत्रको मार्जिन कारोबारलाई सुरक्षित, पारदर्शी एवं व्यवस्थित बनाउन नेपाल धितोपत्र बोर्डको मार्जिन कारोबारसम्बन्धी निर्देशिका, २०८२ को दफा १४ बमोजिम मार्जिन कारोबार सुविधासम्बन्धी कार्यप्रक्रिया बनाई लागुु गरेको हो । कार्य प्रक्रिया परिच्छेद ३ अनुसार सबै सूचीकृत कम्पनीमा मार्जिन सुविधा पाइने छैन ।
यसका लागि कम्तीमा २५ लाख कित्ता सेयर सर्वसाधारणमा जारी भई नेप्सेमा सूचीकृत भएको हुनुपर्ने, कम्पनीको खुद सम्पत्ति (नेटवर्थ) चुक्ता पुुँजीभन्दा बढी भएको हुनुपर्ने, पछिल्लो तीन वर्षमध्ये कम्तीमा दुई वर्ष खुद नाफामा रहेको हुनुपर्ने, साधारण निष्कासन भई सूचीकरण भएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने भनिएको छ ।
यस्तै, नेप्सेले प्रत्येक आर्थिक वर्ष समाप्त भएको सात महिनाभित्र यस्ता योग्य कम्पनीहरूको सूची अद्यावधिक गरी सार्वजनिक गर्ने कार्य प्रक्रियामा उल्लेख छ । कार्यप्रक्रिया निर्देशिका अनुसार लगानीकर्ताले मार्जिन कारोबार गर्दा खरिद रकमको न्यूनतम ३० प्रतिशत ‘प्रारम्भिक मार्जिन’का रूपमा राख्नुपर्नेछ । त्यस्तै, बजारको अवस्था हेरी न्यूनतम २० प्रतिशत सम्भार मार्जिन कायम राख्नुपर्ने व्यवस्था गरिएको छ ।
यदि सेयरको मूल्य घटेर सम्भार मार्जिनभन्दा तल आएमा ब्रोकरले लगानीकर्तालाई मार्जिन कल गर्नेछन् । ब्रोकर कम्पनीहरूले आफ्नो नेटवर्थको अधिकतम ५ गुणासम्म मात्र मार्जिन सुविधा उपलब्ध गराउन पाउने सीमा तोकिएको छ । एउटा ग्राहकलाई आफ्नो प्रमाणित नेटवर्थको ५ प्रतिशतभन्दा बढी मार्जिन सुविधा दिन पाइने छैन । मार्जिन कारोबार सुविधा उपलब्ध गराउन चाहने धितोपत्र दलाल (ब्रोकर) कम्पनीको चुक्ता पुँजी न्यूनतम २० करोड रुपैयाँ हुनुपर्नेछ ।
साथै, उनीहरूले राफसाफ सदस्यको सदस्यता प्राप्त गरेको र निक्षेप सदस्यको रूपमा काम गरिरहेको हुनुपर्ने सर्त राखिएको छ । कार्यप्रक्रिया पारित भए पनि दोस्रो बजारमा मार्जिन कारोबार सुरु हुन अझै केही समय लाग्ने देखिएको छ । किनकि नेप्सेले कार्यविधिअनुसार मार्जिन कारोबारका लागि योग्य कम्पनीहरूको आधिकारिक सूची अझै सार्वजनिक गरिसकेको छैनन् । मार्जिन कारोबारका लागि लगानीकर्ताले मार्जिन कारोबार खाता र मार्जिन कारोबार हितग्राही खाता गरी दुई वटा छुट्टाछुट्टै खाता खोल्नुपर्ने हुन्छ ।
यसका लागि आवश्यक प्राविधिक प्रणाली अझै पूर्ण रूपमा तयार भइसकेको छैन । कार्यविधि भर्खरै आएकाले सबै ब्रोकर कम्पनीहरूले आफ्नो आन्तरिक कार्यविधि र प्रणाली तयार गरिसकेका छैनन् । ब्रोकरहरूले नेप्सेबाट छुट्टै अनुमति लिनुपर्ने र राष्ट्र बैंकको नीतिसँग पनि तालमेल मिलाउनुपर्ने प्रक्रिया बाँकी छ । नेप्सेका अनुसार प्राविधिक जनशक्तिले प्रणाली सुधार र खाता व्यवस्थापनमा काम गरिरहेका छन् । यी तयारीहरू पूरा भएपछि मात्र लगानीकर्ताले औपचारिक रूपमा ब्रोकरमार्फत ऋण लिएर सेयर खरिद गर्न पाउनेछन् ।

















