• Home
  • Financial News
  • कुल निक्षेपमा मुद्दतीको अंश घट्दो
Image

कुल निक्षेपमा मुद्दतीको अंश घट्दो


काठमाडौं– उच्च ब्याजदरका कारण विगतमा मुद्दती निक्षेपमा आकर्षित बचतकर्ताको रुचि अहिले यसमा घटेको छ । यही कारण पछिल्लो समय कुल निक्षेपमा मुद्दती निक्षेपको हिस्सा घट्दै गएको छ ।

मुद्दतीमा उच्च ब्याजदर पाइरहेका बचतकर्ताले अहिले ब्याज कम भएपछि अन्य क्षेत्रमा लगानी बढाउन थालेका हुन् । मुद्दती र साधारण बचतको ब्याजमा धेरै भिन्नता नभएपछि बचतकर्ता मुद्दतीबाट साधारणतर्फ सर्ने प्रवृत्ति पनि देखिएको छ ।

गएको माघमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ६.५ प्रतिशत, ४२.८ प्रतिशत र ४१.६ प्रतिशत छ । अघिल्लो वर्ष माघमा यस्तो अंश क्रमशः ५.२ प्रतिशत, ३४.८ प्रतिशत र ५२.४ प्रतिशत थियो । यो तथ्यांकले मुद्दतीको बचत साधारण र अन्तै सर्न थालेको देखाएको छ । माघसम्मको तथ्यांकअनुसार, कुल निक्षेप ७६ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ ।

मुद्दती निक्षेपबाट रकम बाहिरिनुको प्रमुख कारण घट्दो ब्याजदरलाई मानिएको छ । केही वर्षअघि दोहोरो अंकमा पुगेको ब्याजदर अहिले तीव्र रूपमा घटेको छ । २०८२ माघसम्म आइपुग्दा वाणिज्य बैंकहरूको मुद्दती निक्षेपको भारित औसत ब्याजदर ३.५१ प्रतिशतमा झरेको छ । विकास बैंकमा ३.९७ प्रतिशत र वित्त कम्पनीमा ५.०१ प्रतिशत छ । ब्याजदरमा आएको यस्तो गिरावटले ‘मुद्दतीमा पैसा थुन्नुभन्दा चलायमान राख्नु’ उपयुक्त भन्ने धारणा बलियो बन्दै गएको हो ।
राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री ब्याजदर घटेसँगै मुद्दती निक्षेपप्रति स्वाभाविक रूपमा आकर्षण घटेको बताउँछन् । ‘पर्याप्त प्रतिफल नआउने अवस्थामा बचतकर्ताले रकम लामो समयका लागि बाँधेर राख्न चाहँदैनन् । साधारण बचत खातामै रकम राखेर आवश्यकताअनुसार चलाउन सकिने सुविधा भएकाले मुद्दतीभन्दा त्यतातिर झुकाव बढेको हो,’ उनले भने ।

बैंकिङ प्रणालीमा तरलता सहज भएको अवस्था पनि यो परिवर्तनको अर्को कारक हो । जब बैंकहरूसँग लगानीयोग्य रकम पर्याप्त हुन्छ, उनीहरू उच्च ब्याज दिएर निक्षेप तान्ने दबाबमा हुँदैनन् । यसले मुद्दती निक्षेपको दर घटाउँछ र बचतकर्तालाई अन्य विकल्पतर्फ धकेल्छ । अहिले बैंकहरूले नै साधारण बचत खातालाई प्राथमिकता दिने रणनीति अपनाउन थालेका छन् ।

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल ब्याजदर घट्दै जाँदा कुल बचतमा मुद्दतीको हिस्सा पनि घट्दै गएको बताउँछन् । ‘बजारमा ३४ प्रतिशत संस्थागत निक्षेप छ । त्यो हिस्सा घट्नु भनेको बजारमा ब्याजदर घट्नु नै हो । किनकी यो बेसरेटमा गणना हुन्छ र अझै पनि ब्याजदर घटाउँछ भन्ने देखाउँछ,’ उनले भने ।

मुद्दती निक्षेपको हिस्सा घट्दा बचतकर्तालाई नोक्सान भएको उनको भनाइ छ । ‘यसले मुद्दतीमा निरुत्साहन गरिरहेको छ भने लगानीका अन्य क्षेत्रतर्फ बचतकर्ता आकर्षित भइरहेका छन् । यसरी लगानी अन्त जाँदा बैंकहरूबीच प्रतिष्पर्धा पनि बढेको छ । यसले स्प्रेडलाई पनि घटाएको छ, बैंकको आम्दानीमा असर पर्दै गएको छ,’ उनले भने ।

अहिले निक्षेपकर्ताको ब्याज कम भइरहेको छ भने राज्यले पाउने कर पनि घट्दै गएको खनाल बताउँछन् । ऋणीलाई भने सहज भएको उनको भनाइ छ ।
अर्कोतर्फ वैकल्पिक लगानीका अवसर बढ्नु पनि मुद्दती निक्षेप घट्नुको महत्वपूर्ण कारण बनेको छ । पछिल्लो समय सेयर बजारतर्फ आकर्षण बढेको छ । विशेषगरी कर्जा प्रवाह सहज भएसँगै लगानीकर्ताले बैंकमा पैसा थन्क्याउनु भन्दा बजारमा लगानी गर्न रुचाएका छन् । अन्य क्षेत्रमा पनि प्रतिफलको सम्भावना देखिँदा मुद्दती निक्षेपको आकर्षण स्वाभाविक रूपमा कमजोर भएको हो ।

मुद्दती निक्षेपको प्रकृतिमा रहेको ‘लक–इन’ अवधि पनि अहिलेका बचतकर्ताका लागि असहज बन्दै गएको छ । निश्चित समयसम्म रकम झिक्न नपाइने प्रावधानले लचिलोपन चाहने बचतकर्तालाई आकर्षित गर्न सकेको छैन । त्यसैले एक वर्षभन्दा लामो अवधिका मुद्दती निक्षेपप्रति झनै अनिच्छा देखिएको बैंकरहरू बताउँछन् ।

विज्ञहरूका अनुसार मुद्दती निक्षेप निरन्तर घटिरहे दीर्घकालमा बैंकिङ प्रणालीका लागि चुनौती हुन सक्छ । तर, हालको अवस्थामा भने यसलाई जोखिमपूर्ण रूपमा लिनुपर्ने स्थिति छैन । समग्र निक्षेप बढ्दो क्रममा छ र अर्थतन्त्रमा ठूलो लगानीको दबाब पनि छैन । समग्रमा हेर्दा घट्दो ब्याजदर, पर्याप्त तरलता र बढ्दो वैकल्पिक लगानीका अवसर मिलेर मुद्दती निक्षेपको हिस्सामा गिरावट ल्याइरहेको छ ।

 





Source link

Releated Posts

ब्याजदर घट्दा कर्जा प्रवाहमा देखिएन अपेक्षित सुधार

काठमाडौं– चालु आर्थिक वर्षको फागुनसम्म बैंकको ब्याजदर घट्दै जाँदा कर्जाको वृद्धिदर निराशाजनक देखिएको छ । राष्ट्र बैंकले बिहीबार…

ByByNews on SantoshHub Apr 3, 2026

पाँच अंकले बढेको सेयर बजारमा कारोबार घट्यो

काठमाडौं- यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ । बिहीबार…

ByByNews on SantoshHub Apr 2, 2026

रेमिट्यान्स कम्पनीको न्यूनतम चुक्ता पुँजी १० करोड पुर्‍याउने समयसीमा दुई वर्ष थप

काठमाडौं- नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीहरूको न्यूनतम चुक्ता पुँजी पुर्‍याउने समयसीमा दुई वर्ष थप गरेको छ । ‘विप्रेषण…

ByByNews on SantoshHub Apr 2, 2026

नेप्से परिसूचक ७४ अंकले घट्याे, १२ अर्ब १० करोडको कारोबार

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७४.७३ अंकले घटेर दुई हजार ७७६.३६ को बिन्दुमा कायम भएको छ ।…

ByByNews on SantoshHub Apr 1, 2026

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to Top