• Home
  • Financial News
  • कालोसूचीमा लचकता तयारीः बैंकिङ क्षेत्र तरंगित, निजी क्षेत्रमा उत्साह
Image

कालोसूचीमा लचकता तयारीः बैंकिङ क्षेत्र तरंगित, निजी क्षेत्रमा उत्साह


काठमाडौं– राष्ट्र बैंकले कालोसूची सम्बन्धी व्यवस्थामा लचकता अपनाउँदै गएपछि बैंकिङ क्षेत्र तरंगित बनेको छ । बैंकिङ क्षेत्रमा त्रास फैलँदा निजी क्षेत्रमा भने उत्साह देखिएको छ ।

चेक बाउन्ससम्बन्धी व्यवस्थामा नरम बनेको केन्द्रीय बैंकले कालोसूची सम्बन्धी व्यवस्थामा पनि लचकता अपनाउन लागेको हो । यसका लागि गभर्नर विश्व पौडेलले व्यवसायीहरूसँग छलफल समेत गरिसकेका छन् । उनले नेपालमा धेरै मानिस कालोसूचीमा परेपछि कर्जा लिन सक्ने सम्भावित उद्यमीको संख्या घट्ने भएकाले यससम्बन्धी व्यवस्थालाई नरम बनाउन अध्ययन गरिरहेको बताउँदै आएका छन् ।

केही दिनअघि वीरगञ्जमा व्यवसायीहरूसँग गभर्नर पौडेलले कालोसूचीमा राख्ने प्रावधानको विषयमा आफूले गम्भीरतापूर्वक अध्ययन गरिरहेको बताएका थिए । ‘चेक ब्याउन्स हुनेबित्तिकै कालोसूचीमा राख्ने विषयमा पनि हामीले अध्ययन गरिरहेका छौं,’ उनले भने, ‘कालोसूचीमा पर्नेहरुको सूची छोटो कसरी बनाउने विषयमा लागिरहेका छौं । चेक बाउन्स र बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका धेरै मानिस कालोसूचीमा पर्ने गरेको देखिएको छ । कालोसूचीमा राख्नुपर्ने कति हुन्, कालोसूचीमा नराख्नुपर्ने कति हुन् भन्ने विषयमा हामीले हेरिराखेका छौं ।’ गभर्नर पौडेलले धेरै कडाइ गरेर वा थुनेर व्यापार–व्यवसाय मात्रै नभएर मुलुक पनि नचल्ने बताएका थिए ।

एकातिर कर्जा असुलीमा सुधार हुन नसक्दा दबाबमा परेको बैंक तथा वित्तीय क्षेत्र कालोसूची सम्बन्धी व्यवस्था लचिलो बनाउँदा झनै समस्यामा पर्ने बैंकरहरूको चिन्ता छ ।

अहिलेको संवेदनशील अवस्थामा कालोसूची सम्बन्धी व्यवस्थामा लचकता अपनाइयो भने कर्जा नतिर्ने प्रवृत्ति झनै बढ्ने जोखिम बैंकरहरूले देखेका छन् । कालोसूचीभित्र कस्ता कस्ता ऋणी परेका छन् र उनीहरूले किन ऋण नतिरेका हुन् भन्नेबारे अध्ययन गरेर मात्र यस व्यवस्थाबारे सोच्नुपर्नेमा उनीहरूको जोड छ । यसो नगर्ने हो भने अहिलेकै व्यवस्थालाई ठीक मानेर जानुपर्ने बैंकरहरूको भनाइ छ ।

विगतमा कालोसूचीमा राख्नका लागि कर्जाको सीमा राखिएको थियो । विगतमा १० लाख रुपैयाँभन्दा कम ऋण लिनेहरू कालोसूचीमा राखिँदैन थियो । तर, अहिले एक रुपैयाँ लिएर नतिरे पनि कालोसूचीमा राख्ने व्यवस्था छ । यसले गर्दा कालोसूचीमा पर्नेहरूको संख्या बढ्दै गएको छ । फोन लोनदेखि ठूला ऋण लिनेसम्मका ऋणीहरू कालोसूचीमा पर्ने गरेकोमा यो व्यवस्थामा लचकता ल्याइँदा स्पष्टसँग ऋणीहरूलाई वर्गीकृत गर्नुपर्नेमा बैंकरहरूले जोड दिएका छन् ।

कर्जा सूचना केन्द्रका अनुसार, चालु आर्थिक वर्षको फागुनसम्ममा कालोसूचीमा रहनेहरुको संख्या १ लाख ६९ हजार ९२१ छ । यसमध्ये ५३ हजार ५७१ जना आर्थिक वर्ष २०८१-८२ मा थपिएका हुन् । तीमध्ये ३४ हजार ७७० जना चेक बाउन्सबाट परेका छन् । बाँकी १८ हजार ८०१ जना ऋण नतिरेर कालोसूचीमा परेको केन्द्रको तथ्यांक छ ।

बैंकरहरूका अनुसार ऋण नतिर्ने सबै व्यवसायी हुन् र उनीहरूप्रति लचिलो हुनुपर्छ भन्ने सोच राखियो भने गलत हुन्छ । कतिपय बैंकरहरूले कालोसूचीमा भएको व्यवस्थालाई चलाए बैंकिङ क्षेत्रमा बेथिति बढेर प्रणालीमै समस्यामा पर्ने बताउन थालेका छन् । यसका लागि आफूहरूले केन्द्रीय बैंकमा पनि छलफल गरिरहेको बैंकरहरूको भनाइ छ । एक बैंकरले भने, ‘राष्ट्र बैंकले सबै ऋणीलाई एउटै डालोमा हालेर हेर्न हुँदैन । हेर्दैन भन्ने विश्वास पनि छ ।’

बैंकरहरूको चाहना भनेको अहिलेको व्यवस्थालाई नचलाउने हो । तर, व्यवसायीलाई राहत दिनुपर्ने पनि भएकाले यसमा अलि बढी छलफल आवश्यक रहेको उनीहरूको भनाइ छ । कतिपयले भने ऋण नतिरेर कालोसूचीमा परेपछि खाता बन्द नगरी खाता चालु नै रहने व्यवस्था मिलाउनेतर्फ सोच्न सकिने बताएका छन् । यसो हुँदा सबै हिसाबकिताब हेर्न सकिने र ऋण तिराउन पनि सहज हुने बैंकरहरूको भनाइ छ । यसले व्यवसायीलाई आर्थिक लेनदेन गर्न पनि सहज हुने उनीहरूको बुझाइ छ ।

पूर्वबैंकर अनलराज भट्टराई भने अहिले कालोसूचीमा सबैलाई एकै व्यवस्था भएकाले पहिले वित्तीय प्रणालीभित्रको वा बाहिरको भनेर अलग्गै हेर्नुपर्ने बताउँछन् । कुनै व्यापार–व्यवसायको पैसा उठेन भने पनि वा व्यक्तिगत लेनदेनमा असुली नहुँदा पनि कालोसूचीमा राख्ने एउटै व्यवस्था रहेको बताउँदै उनले यसलाई अलग गर्नुपर्ने बताए । भट्टराईले भने, ‘बैंकमा भएको कारोबारमा नतिर्दा हुने कालोसूची र व्यक्तिगत वा संस्थागत कारोबार गर्ने कालोसूचीको व्यवस्था फरक–फरक गर्नुपर्छ ।’ यस्तो व्यवस्था गरिएमा सबै पक्षलाई सहज हुने उनी बताउँछन् ।

राष्ट्र बैंकले कालोसूचीको व्यवस्थामा लचकता अपनाउने भएपछि निजी क्षेत्र भने उत्साहित देखिएको छ । नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले अहिले मुलुकका डेढ लाखभन्दा बढी व्यापारी कालोसूचीमा परेको बताए । ‘झण्डै १५–२० प्रतिशत व्यापारी कालोसूचीमा परेपछि कर्जा लगानी गर्ने को ?’ अग्रवालले भने, ‘उहाँहरू कुनै आफ्नो कारणले कालोसूचीमा परेका हैनन् । नीतिगत कारणले परेको हो ।’ राष्ट्र बैंकले लचकता नअपनाए अहिलेको आर्थिक शिथिलताबाट पार नपाइने उनी बताउँछन् ।

अर्थतन्त्र निकै कमजोर भइसकेपछि केन्द्रीय बैंकले नीतिगत सुधार गर्ने प्रवृत्ति भएको बताउँदै उनले बैंकरहरूसँग समेत समन्वय गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । ‘उद्योग–व्यवसायको प्रकृति हेरेर नीति आउनुपर्छ । राष्ट्र बैंकबाट हामीले नीतिगत लचकता मात्र खोजेका हौं,’ उनले भने । यससम्बन्धी व्यवस्थामा लचकता अपनाएर अगाडि बढ्न सकिए अर्थतन्त्र लयमा जान सहयोग हुने उनले बताए । अहिले कर्जा लगानी गर्ने अवस्था नरहेको बताउँदै उनले त्यसका लागि यस्ता नीतिहरूमा लचकता जरुरी रहेको औंल्याए ।





Source link

Releated Posts

ब्याजदर घट्दा कर्जा प्रवाहमा देखिएन अपेक्षित सुधार

काठमाडौं– चालु आर्थिक वर्षको फागुनसम्म बैंकको ब्याजदर घट्दै जाँदा कर्जाको वृद्धिदर निराशाजनक देखिएको छ । राष्ट्र बैंकले बिहीबार…

ByByNews on SantoshHub Apr 3, 2026

पाँच अंकले बढेको सेयर बजारमा कारोबार घट्यो

काठमाडौं- यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ । बिहीबार…

ByByNews on SantoshHub Apr 2, 2026

रेमिट्यान्स कम्पनीको न्यूनतम चुक्ता पुँजी १० करोड पुर्‍याउने समयसीमा दुई वर्ष थप

काठमाडौं- नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीहरूको न्यूनतम चुक्ता पुँजी पुर्‍याउने समयसीमा दुई वर्ष थप गरेको छ । ‘विप्रेषण…

ByByNews on SantoshHub Apr 2, 2026

नेप्से परिसूचक ७४ अंकले घट्याे, १२ अर्ब १० करोडको कारोबार

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७४.७३ अंकले घटेर दुई हजार ७७६.३६ को बिन्दुमा कायम भएको छ ।…

ByByNews on SantoshHub Apr 1, 2026

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to Top