काठमाडौं– फागुन २१ को निर्वाचनपछि नयाँ सरकार निर्माणको चरणमा रहेका बेला सेयर बजारमा सकारात्मक प्रभाव परेको छ ।
पछिल्लो एक साता (फागुन २९–चैत ५) मा सेयर कारोबारको मापक नेप्से परिसूचक ५६.५७ अंकले बढेको छ । फागुन २९ बिहीबार २८२०.४५ मा रहेको नेप्से परिसूचक चैत ५ मा आउँदा २८७७.०२ बिन्दुमा पुगेको हो ।
बैंक तथा वित्तीय संस्थाहरूले कृषि, ऊर्जाका साथै साना र मझौला उद्योगलगायत क्षेत्रमा निश्चित प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने प्रावधानमा राष्ट्र बैंक लचिलो बनेपछि बिहीबार सेयर बजारमा उत्साह छाएको छ ।
राष्ट्र बैंकले एकीकृत निर्देशन जारी गरेको भोलिपल्ट (बिहीबार) सेयर बजार परिसूचक नेप्से ६४.६७ अंक (२.२९ प्रतिशत) बढेको हो । यससँगै नेप्से २८७७.०२ विन्दुमा पुगेको छ । यसदिन कारोबार रकममा पनि उच्च वृद्धि भएको छ । अघिल्लो कारोबार दिन गत मंगलबार १२ अर्ब ३ करोड रुपैयाँ कारोबार भएकोमा बिहीबार २१ अर्ब २२ करोड रुपैयाँभन्दा बढीको भएको छ ।
गत बिहीबार (फागुन २९) नेप्से परिसूचक २८२०.४५ विन्दुमा थियो । त्यसपछि आइतबार २८२४.९१ विन्दुमा पुगेको नेप्सेमा सोमबार गिरावट आएको थियो । करेक्सनसँगै सोमबार परिसूचक २७९८.८३ विन्दुमा झरेकोमा मंगलबार बढेर २८१२.३५ विन्दुमा पुगेको थियो । त्यो वृद्धिले बिहीबार पनि निरन्तरता पाएको हो ।
पछिल्ला कारोबार दिनहरूमा कारोबार रकम पनि बढ्दै गएको छ । गत बिहीबार १४ अर्ब ५५ करोड रुपैयाँ हाराहारीको सेयर किनबेच भएकोमा आइतबार १४ अर्ब ३२ करोड रुपैयाँ, सोमबार ११ अर्ब ९७ करोड रुपैयाँ, मंगलबार १२ अर्ब ३ करोड र बिहीबार २१ अर्ब २२ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।
गत बिहीबार ४७ खर्ब ४४ अर्ब रुपैयाँ कुल सेयर बजार पुँजीकरण रहेकोमा यस साताको बिहीबार ४८ खर्ब ७६ अर्ब रुपैयाँ पुगेको छ ।
निर्वाचनपछि लगानीकर्तामा उत्साह छाउँदा सेयर बजारमा त्यसको प्रभाव परेको हो । अब नयाँ बन्ने सरकार स्थिर र सुशासनप्रति प्रतिबद्ध हुने, आर्थिक विकास हुने जस्ता प्रतिबद्धता र सेयर बजार पनि थप उचाइमा पुग्ने विश्वासका कारण लगानीकर्ताको मनोबल बढेको जानकारहरू बताउँछन् ।
बिहीबार फ्लोट इन्डेक्स २.५० प्रतिशत, सेन्सेटिभ इन्डेक्स २.४० प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स २.५१ प्रतिशतले बढेका छन् । बिहीबार सबै समूहगत सूचकमा हरियाली छाएको छ । तीमध्ये सर्वाधिक बढ्नेमा विकास बैंक समूहको सूचक छ । उक्त समूहको सूचक ३.९५ अंकले वृद्धि भएको छ ।
सर्वाधिक बढ्ने सूचीमा दोस्रो बैंकिङ सूचक छ । उक्त समूहको सूचक ३.१६ प्रतिशत वृद्धि भएको छ । राष्ट्र बैंकले कर्जा प्रवाहसम्बन्धी लचिलो नीति लिएकाले लगानीकर्ता सकारात्मक बनेको जानकार बताउँछन् ।
बिहीबार सर्वाधिक सेयर मूल्य बढ्ने प्रतिशतका आधारमा कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्स छन् । यी कम्पनीका सेयर मूल्य समान १० प्रतिशत बढेका छन् । सर्वाधिक मूल्य घट्ने प्रतिशतका आधारमा नेपाल लाइफ समृद्धि योजना छ । उक्त योजनाको इकाई मूल्य ५.१२ प्रतिशत घटेको छ ।
बिहीबार सर्वाधिक रकमको कारोबार हुनेमा ङादी ग्रुप पावर लिमिटेड छ । यस दिन उक्त कम्पनीको ६७ करोड १६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।


















