काठमाडौं– सेयर बजारमा आएको उतारचढावसँगै गत वर्षको माघको तुलनामा यो वर्षको माघमा नेप्से परिसूचक घटे पनि फागुनमा आएर भने बढेको छ ।
फागुन २१ को निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भई रास्वपाको एकल सरकार बन्ने भएपछि नेप्सेमा उत्साह आएको हो । निर्वाचनपछिको एक सातामै नेप्से १४७ अंकले बढेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको सात महिनासम्मको तथ्यांकअनुसार, २०८१ माघ मसान्तमा २६८५.७३ विन्दुमा रहेको नेप्से सूचकांक २०८२ माघ मसान्तमा २६७१.०७ कायम भएको छ ।
२०८२ फागुन अन्तिममा भने निर्वाचनपछिको नयाँ सरकार बन्ने तयारीका कारण नेप्से परिसूचक बढ्दै गएको छ । बजार अझै बढ्दै जाने अपेक्षा गरिएको छ । फागुन अन्तिमसम्ममा नेप्से २८२०.४४ विन्दुमा पुगेको छ । फागुन २१ मा प्रतिनिधि सभाको निर्वाचन भएपछि परिसूचक बढ्दै गएको हो । गत फागुन १७ मा २६७३.९७ विन्दुमा रहेको नेप्से निर्वाचनपछि गत बिहीबारसम्ममा १४६.४७ अंकले बढिसकेको छ । निर्वाचनको बिदा सकिएपछि गत सोमबार २५ गते एकैदिन नेप्से १६२.९३ अंकले बढेसँगै यसले उचाइ लिएको हो । नयाँ सरकार बनेपछि यो विन्दु फेरि बढ्ने र यसअघिको सर्वोच्च उचाइ ३ हजार २ सयभन्दा माथि पुग्ने अनुमान र विश्लेषण गरिएको छ ।
विगतमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीले पुँजी बजारलाई प्रभाव पार्ने नीतिहरूमा कडाइ गरेपछि बजार खस्किएको लगानीकर्ताहरूको बुझाइ थियो । अधिकारीको अवकाशको केही महिनापछि नयाँ गभर्नर विश्व पौडेल बने । उनी आएपछि पुँजी बजार बढ्ने अपेक्षा गरिएको थियो ।
लगानीकर्ताको अपेक्षाअनुसार नै गभर्नर पौडेलले नीतिहरू लचक बनाउँदै गए । तर पनि बजार बढ्न नसक्दा लगानीकर्ता निराश बनेका थिए । गत असारदेखि नै राष्ट्र बैंकले नीतिगत लचकता अपनाउँदै जाँदा बजार बढ्ने अपेक्षा भए पनि भदौमा भएको जेनजी आन्दोलनले सेयर बजारलाई प्रत्यक्ष असर परेको जानकारहरु बताउँछन् । सोही कारण लगानीमैत्री नीति आए पनि बजार बढ्न नसकेको उनीहरूको भनाइ छ ।
जेनजी आन्दोलनपछि राजनीतिक अनिश्चितता, अन्योल र शिथिल अर्थतन्त्रका कारण सेयर बजार बढ्न सकेन । यसले गर्दा निराश लगानीकर्ता फागुन २१ को निर्वाचनपछि भने उत्साहित बनेका छन् । लगानीकर्ताहरू अब बजार बढ्ने र लाभ लिन सकिने देखेर लगानीका लागि थप माहोल बनाउन थालेको देखिन्छ ।
निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुईतिहाइ नजिकको मत पाएकाले अब पाँच वर्षसम्म स्थिर सरकार र स्थिर अर्थनीति हुने लगानीकर्ताको विश्वास छ । यही कारण पनि लगानीकर्ताको मनोबल बढ्न थालेको र त्यसको प्रभाव सेयर बजारमा देखिएको सेयर बजारका जानकार डा. गोपाल भट्ट बताउँछन् ।
नेपालको सेयर बजारले पछिल्लो समय लगानीका लागि आधारभूत सूचकहरू भन्दा पनि राजनीतिलाई बढी हेर्न थालेको उनको बुझाइ छ । भट्टले भने, ‘राजनीतिक स्थिरता नै लगानीकर्ताले चाहने गरेका छन् । स्थिरता आउने सुनिश्चित भएसँगै माहोल सेयर बजारमा पर्न थालेको देखिन्छ ।’ लगानीकर्ताले रास्वपाको नीतिमा पनि विश्वास गरेको उनको भनाइ छ । उनले थपे, ‘अहिले लगानीकर्ताहरू पुँजीबजार मैत्री सरकार बन्नेमा ढुक्क देखिन्छन् । राजनीतिक र नीतिगत स्थिरता हुने, सुशासन कायम हुने लगायत विश्वास लगानीकर्तामा छ ।’
इन्भेष्टर्स फोरम नेपालका अध्यक्ष तुलसीराम ढकालले निर्वाचनपछि रास्वपाको एकल सरकार बन्ने, प्रधानमन्त्रीको रुपमा बालेन शाह र अर्थमन्त्रीमा अर्थतन्त्रका जानकार स्वर्णीम वाग्ले आउने चर्चाका कारण लगानीकर्ता बढी उत्साहित भएको बताए । ‘अहिले बजार सहज अवस्थामा रहेकाले स्थिर सरकारको मात्रै आवश्यकता हो । स्थिर सरकार पाएपछि सेयर बजारले झनै गति लिन्छ,’ उनले भने ।
पछिल्लो समय सेयर बजारतर्फ जाने कर्जा पनि बढ्दै गइरहेको छ । राष्ट्र बैंकले सेयर कर्जा लिन सहज नीति बनाइदिएसँगै यसप्रति आकर्षण बढ्दो छ । यसले पनि सेयर बजारलाई सहज बनाएको छ । नीतिहरू सहज भए पनि अपेक्षित गतिमा बजार बढेको छैन । यसको कारण राजनीतिक अस्थिरता नै भएको जानकारहरू बताउँछन् ।
२०८२ माघ मसान्तमा धितोपत्र बजार पँुजीकरण ४४ खर्ब ८४ अर्ब रुपैयाँ पुगेको छ । २०८१ माघ मसान्तमा यो रकम ४४ खर्ब ५८ अर्ब थियो । २०८१ माघ मसान्तमा बजार पुँजीकरण कुल गार्हस्थ्य उत्पादनको ७८.०९ प्रतिशत रहेकोमा २०८२ माघमा ७३.४३ प्रतिशत छ ।
२०८२ माघ मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २८४ रहेको छ । सूचीकृत कम्पनीमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९७ जलविद्युत, २६ उत्पादन तथा प्रशोधन उद्योग, ८ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र १० अन्य समूहका रहेका छन् ।
२०८१ माघमा सूचीकृत कम्पनीको संख्या २६८ रहेको थियो । सूचीकृत कम्पनीमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५१.७ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत कम्पनीको हिस्सा १६.० प्रतिशत, लगानी कम्पनीको ७.४ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको ७ प्रतिशत, व्यापारिक संस्थाको ४.७ प्रतिशत, होटेलको ३.२ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा १०.१ प्रतिशत रहेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८२ माघ मसान्तमा सूचीकृत ९ अर्ब २३ करोड सेयरको चुक्ता मूल्य ९ खर्ब ८ अर्ब ८३ करोड रहेको छ ।
आर्थिक वर्ष २०८२–८३ को सात महिनामा २१ अर्ब ९६ करोड बराबरको साधारण सेयर, ९ अर्ब ६४ करोड बराबरको हकप्रद सेयर, ७ अर्ब ५० करोड बराबरको म्युचुअल फन्ड, ७ अर्ब ४९ करोडको बोनस सेयर, ३ अर्ब ४० करोडको डिबेन्चर, ९२ करोड ५० लाखको एफपीओ र २ करोड २९ लाख रुपैयाँ बराबरको अन्य गरी कुल ५० अर्ब ९४ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।
यस अवधिमा धितोपत्र बोर्डले १३ अर्ब १३ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, ६ अर्ब ६४ करोड बराबरको साधारण सेयर, ४ अर्ब ४१ करोड बराबरको हकप्रद सेयर, २० करोडको डिबेन्चर र ५ करोड रुपैयाँको एफपीओ गरी कुल २४ अर्ब ४२ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।

















