काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०.३० अंकले बढेर २ हजार ६ सय ४८.९० विन्दुमा कायम भएको छ । बुधबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । मंगलबार ४ अर्ब २३ करोडको कारोबार भएकोमा बुधबार ४ अर्ब ४५ करोडको सेयर किनबेच भयो ।
बुधबारको कारोबारमा १५७ कम्पनीको मूल्य बढ्दा ९० कम्पनीको घट्यो भने १३ कम्पनीको स्थिर रह्यो । बुधबार धेरै कारोबार भएका कम्पनीमा आँखुखोला जलविद्युत् कम्पनी, ङादी ग्रुप, एसवाई प्यानल, रिडी पावर र बन्दीपुर केबुलकार अगाडि रहेका छन् ।
यस्तै, जीवन बीमा समूह सबैभन्दा धेरै १.७९ प्रतिशत बढ्यो । बैंकिङ ०.२२, विकास बैंक ०.२१, होटल तथा पर्यटन ०.४७, हाइड्रोपावर ०.३९, लगानी ०.३०, उत्पादन तथा प्रशोधन ०.८३, माइक्रोफाइनान्स ०.१५, निर्जीवन बीमा ०.१९, अन्य ०.३५ प्रतिशत बढे भने व्यापार ०.८९ र फाइनान्स ०.२८ प्रतिशत घटे ।
दुई कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । साल्पा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सको मूल्य १० प्रतिशत बढ्यो । विन नेपाल लघुवित्तको ९.६६, सुपरमाइ हाइड्रोपावरको ९.१८ तथा अपर लोहोरेखोला जलविद्युतको ४.१५ प्रतिशत मूल्य बढ्यो । हिमालयन पावर पार्टनरको मूल्य सबैभन्दा धेरै ५.९८ प्रतिशत मूल्य घट्यो ।

















