• Home
  • Financial News
  • मुद्दती निक्षेपको ब्याजदर निरन्तर घट्दै, बचतकर्तालाई मार
Image

मुद्दती निक्षेपको ब्याजदर निरन्तर घट्दै, बचतकर्तालाई मार


काठमाडौं– फागुन महिनाका लागि वाणिज्य बैंकहरूले व्यक्तिगत र संस्थागत दुवै मुद्दती निक्षेपको औसत ब्याजदर घटाएका छन् । बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ०.११५५ प्रतिशत विन्दु घटाएर ४.५६९ प्रतिशत विन्दुमा कायम राखेका हुन् ।

माघ महिनामा ४.६८४५ प्रतिशत विन्दु रहेको बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर फागुन महिनामा घटेको हो । पछिल्ला महिनाहरूमा मुद्दती निक्षेपको ब्याजदर निरन्तर घट्दै जाँदा बचतकर्ता मारमा परेका छन् । हाल वाणिज्य बैंकका मात्र ५ करोड ३० लाखभन्दा बढी बचतकर्ता छन् । उनीहरूको बचतको हितका लागि बैंक तथा राष्ट्र बैंकले समेत विशेष चासो दिनुपर्ने आवाज उठिरहेको छ ।

नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष भुवनकुमार दाहाल राष्ट्र बैंकले निक्षेपकर्तालाई न्याय गर्ने गरी सोच्ने समय आइसकेको बताउँछन् । ‘मुद्दती निक्षेपको ब्याजदर न्यूनतम पाँच प्रतिशत राख्दासम्म ठीकै थियो । तर, त्योभन्दा कम भइसकेको अहिलेको अवस्थामा बचतकर्तालाई अन्याय भइरहेको जस्तो देखिएको छ,’ कारोबारसँग दाहालले भने ।

राष्ट्र बैंकले ‘नन डेलिभरेवल फर्वाड’को सीमा बढाउन आवश्यक रहेको उनले बताए । बचतमा ब्याजदर घटे पनि धेरै असर नपर्ने भन्दै उनले मुद्दती निक्षेपको ब्याजदर बढी बनाउनुपर्नेमा जोड दिए । उनले भने, ‘नन डेलिभरेवल फर्वाडको सीमा बढाउने र त्यसको कारणले विदेशमा बैंकहरूले पार्क गर्ने फण्डमा जोखिम नहोस् भनेर राष्ट्र बैंकले सहजीकरण गर्दा उत्तम हुन्छ । अहिले नन डेलिभरेवल फर्वाडको सीमा कोर क्यापिटलको २० प्रतिशत छ ।’

राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा पनि निक्षेपको ब्याजदरलाई सन्तुलनमा राख्नका लागि नन डेरिभरेवल फर्वाडलाई २० बाट ४० प्रतिशतमा पुर्‍याउँदा सहज हुने बताउँछन् । उनले भने, ‘यसले अहिले अवस्था सहज बनाउन मद्दत गर्छ । यसबाहेक ऋणपत्र निकाल्नेतर्फ पनि अगाडि बढ्ने विकल्प राष्ट्र बैंकसँग रहन्छ ।’ राष्ट्र बैंकले आवश्यक पर्दा सबै नागरिकलाई विदेशी मुद्रा उपलब्ध गराउनका लागि नन डेरिभरेवल फर्वाड बढाउँदा असर नपर्ने भएकाले यसमा धेरै सोच्नु नपर्ने उनले बताए । अहिले मुद्रास्फीतिलाई मात्र हेरेर ब्याजदर ठीक छ भन्नु सन्तोषजनक नहुने उनको भनाइ छ ।

बै‌करहरू भने विगतमा बचतकर्ताले १३ प्रतिशत हाराहारीसम्म ब्याज पाएको भन्दै त्यतिखेर ऋणीलाई अन्याय भएको पनि सम्झनुपर्ने बताउँछन् । ब्याजदर घट्ने अवस्था बजारको माग र पूर्तिमा निर्भर भएको उनीहरूको भनाइ छ । ‘यो परिस्थिति नियतवश आएको होइन । लगानी नै नभएको अवस्थामा ब्याजदर बढ्ने सम्भावना रहँदैन । त्यसैले बचतकर्ता मारमा भन्ने अवस्था होइन,’ नबिल बंैकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले भने । ब्याजदर माग र पूर्तिकै नियममा निर्धारण भइरहेको भन्दै उनले कर्जा परिचालन भएको अवस्थामा ब्याजदर बढ्दै जाने र कर्जा नगएर तरलता अधिक भएको अवस्थामा ब्याजदर घट्नु स्वाभाविक भएको समेत बताए । अहिले १३ खर्ब हाराहारी तरलता रहेको अवस्था रहँदा पनि मुद्रास्फीतिभन्दा बचतको ब्याजदर बढी नै भएकाले चिन्ता लिनुपर्ने तर्क ज्ञवालीको छ । अब बचतको ब्याज लिने भन्दा पनि लगानीको प्रतिफल लिनेतर्फ सबैले जोड दिनुपर्ने भन्दै उनले त्यसो हुन नसक्नु चिन्ताको विषय भएको बताए ।

राष्ट्र बैंकका अनुसार, पुससम्ममा वाार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति २.४२ प्रतिशत रहेको छ ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् प्रवक्ता गुरुप्रसाद पौडेल अझै पनि मुद्रास्फीति भन्दा निक्षेपको ब्याजदर बढी नै भएकाले आत्तिनु नपर्ने बताउँछन् । आर्थिक वर्ष २०८२–८३ को मौद्रिक नीतिमार्फत ब्याजदर करिडोरको तल्लो सीमाको रूपमा रहेको स्थायी निक्षेप सुविधा दरलाई ३ प्रतिशतबाट घटाई २.७५ प्रतिशत बनाइएको छ । कम्तिमा पनि २.७५ प्रतिशतभन्दा तल बैंकहरूको अल्पकालीन ब्याजदर नघटोस् भनेर भनिएको भन्दै प्रवक्ता पौडेल यसरी हेर्दा ब्याजदर अझै पनि बढी भएकाले चिन्ता गरिहाल्नुपर्ने अवस्था नरहेको बताउँछन् ।

मुद्रास्फीतिसँग तुलना गरेर हेर्ने हो भने पनि निक्षेपको ब्याजदर सकारात्मक अवस्थामा रहेको उनले बताए । ‘यदि मुद्रास्फीतिभन्दा कम ब्याजदर हुँदा चाहिँ चिन्ता लिनैपर्ने अवस्था आउँथ्यो । बचत निरुत्साहित हुन्छ भन्ने चिन्ता हुन्थ्यो,’ उनले भने । यसबाहेक अहिलेको बचतको ब्याजदरलाई केन्द्रीय बैंकले नियालिरहेको ब्याजदरलाई वाञ्छित सीमाभित्र राखिरहेको प्रवक्ता पौडेल बताउँछन् । अहिले ब्याजदरलाई सीमाभित्र राख्नका लागि बैंकहरूलाई केन्द्रीय बैंकले स्थायी निक्षेप सुविधा लगायतका उपकरण दिनेमात्र नभई ऋणपत्र नै जारी गरेर तरलता व्यवस्थापन गरेको र नियमित रुपमा समेत निक्षेप प्रशोचन गरिरहेको छ । यसले पनि ब्याजदर सीमामा राख्न सहज पुगेको प्रवक्ता पौडेलको भनाइ छ ।

कुन बैंकले कति घटाए ब्याजदर ?
फागुन महिनामा ९ वटा वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने ११ बैंकले यस्तो मुद्दतीको अधिकतम ब्याजदरमा माघकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

ग्लोबल आइएमई बैंकले सबैभन्दा बढी ०.७५ प्रतिशत विन्दु घटाएको छ । माघ महिनामा ५.५ प्रतिशत रहेको सो बैंकको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर फागुनमा घटेर ४.७५ प्रतिशतमा झरेको छ ।

फागुन महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ब्याज नेपाल बैंकले दिने भएको छ । यो बैंकले अधिकतम ५.१ प्रतिशतका दरले ब्याज दिने भएको छ ।

सबैभन्दा कम ब्याजदर भने स्ट्याण्डर्ड चार्टर्ड, कृषि विकास बैंक, प्राइम कमर्सियल, नेपाल एसबिआई, एभरेष्ट र सिद्धार्थ बैंकको रहेको छ । यी बैंकहरुले अधिकतममा ४.२५ प्रतिशतका दरले ब्याज दिने भएका छन् ।

संस्थापक मुद्दती निक्षेपमा हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एशिया बैंक र एनएमबि बैंकले ४ प्रतिशतको दरले ब्याज दिने भएका छन् ।





Source link

Releated Posts

ब्याजदर घट्दा कर्जा प्रवाहमा देखिएन अपेक्षित सुधार

काठमाडौं– चालु आर्थिक वर्षको फागुनसम्म बैंकको ब्याजदर घट्दै जाँदा कर्जाको वृद्धिदर निराशाजनक देखिएको छ । राष्ट्र बैंकले बिहीबार…

ByByNews on SantoshHub Apr 3, 2026

पाँच अंकले बढेको सेयर बजारमा कारोबार घट्यो

काठमाडौं- यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ । बिहीबार…

ByByNews on SantoshHub Apr 2, 2026

रेमिट्यान्स कम्पनीको न्यूनतम चुक्ता पुँजी १० करोड पुर्‍याउने समयसीमा दुई वर्ष थप

काठमाडौं- नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीहरूको न्यूनतम चुक्ता पुँजी पुर्‍याउने समयसीमा दुई वर्ष थप गरेको छ । ‘विप्रेषण…

ByByNews on SantoshHub Apr 2, 2026

नेप्से परिसूचक ७४ अंकले घट्याे, १२ अर्ब १० करोडको कारोबार

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७४.७३ अंकले घटेर दुई हजार ७७६.३६ को बिन्दुमा कायम भएको छ ।…

ByByNews on SantoshHub Apr 1, 2026

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to Top